सीएनआई युवा उद्यमी मञ्चद्वारा नेपालको अटोमोटिभ उद्योगको अवस्थाबारे उच्चस्तरीय सीईओ फोरम सम्पन्न

  • Technology Khabar | २३ असार २०८३, मंगलवार
सीएनआई युवा उद्यमी मञ्चद्वारा नेपालको अटोमोटिभ उद्योगको अवस्थाबारे उच्चस्तरीय सीईओ फोरम सम्पन्न

काठमाडौं ।

नेपाल उद्योग परिसंघ (सीएनआई) को युवा संगठन सीएनआई युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले ‘सीईओ फोरम: इन्जिनभन्दा पर, नेपालको अटोमोबाइल उद्योगको कथा’ विषयक एक उच्चस्तरीय अन्तर्क्रिया सम्पन्न गरेको छ।

कार्यक्रममा नेपाली अर्थतन्त्रका संरचनागत चुनौतीहरू र विकासका सम्भावनाबारे विश्लेषण गर्न युवा व्यवसायिक नेतृत्व, नीति विज्ञ र उद्योगीहरूसँग छलफल गरेको हो।

छलफलमा नेपालको कर्पोरेट र औद्योगिक ढाँचा निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका विज्ञहरूको उपस्थिति रहेको थियो।

छलफलका प्यानलिस्टहरूमा सीजी होल्डिङ्ग्सका प्रबन्ध निर्देशक करण चौधरी (मारुती प्रतिनिधि), भोइथकी प्रबन्ध निर्देशक ऋतु सिंह वैद्य (टोयोटा प्रतिनिधि) र साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठ (बीवाईडी प्रतिनिधि) रहेका थिए। कार्यक्रमको सहजीकरण त्रिवेणी ग्रुपका निर्देशक साकेत संघाईले गरेका थिए।

कार्यक्रमको सुरुवात गर्दै सीएनआईवाइईएफकी नेटवर्क एण्ड कम्युनिकेशन सभापति साईनी खेतानले कार्यक्रमको रूपरेखा र उद्देश्यमाथि प्रकाश पारेपछि प्यानलिस्ट र सहजकर्ताको परिचयात्मक प्रस्तुतिसँगै प्यानल छलफल भएको थियो।

छलफलका क्रममा अटोमोटिभ क्षेत्रका जटिलता, औद्योगिक विकासमा रहेका कानुनी बाधा र नेपालको वाणिज्य क्षेत्रमा भइरहेको परिवर्तनबारे विमर्श गरिएको थियो।

सो अवसरमा आयोजित खुला प्रश्नोत्तर सत्रमा उत्पादन, प्रविधि र सेवा लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूले नीतिगत स्थिरता, बजारका समसामयिक चुनौती र समग्र लगानीको वातावरणका विषयमा प्यानलिस्टहरूसँग प्रत्यक्ष अन्तर्क्रिया गरेका थिए।

प्रकाशित: २३ असार २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार