काठमाडौं ।
सामाजिक सञ्जालमार्फत महिलाको अश्लील भिडियो तथा तस्बिर दुरुपयोग गरी ब्ल्याकमेल गर्ने एक युवकलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राऊ गरेको छ।
प्राविधिक अनुसन्धान तथा विश्लेषणका क्रममा खुल्न आएको तथ्यका आधारमा जुम्लाको चन्दननाथ गाउँपालिका–८ स्थायी घर भई हाल काठमाडौंको बसुन्धरामा बस्दै आएका २० वर्षीय पवन निसादलाई असार १७ गते काठमाडौं महानगरपालिका–७ चाबहिलबाट पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ।
पक्राऊ परेका निसादले ब्यूरोका अनुसार पीडित महिलासँग सहमतिमा खिचिएका अश्लील भिडियो र तस्बिरको दुरुपयोग गर्दै बारम्बार अनुचित लाभको मागसहित दबाब दिएका थिए।
माग पूरा नभएपछि ती सामग्री पीडितका परिवारजनलाई व्हाट्सएपमार्फत पठाएको भन्दै पीडितले दिएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।
उनीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।
प्रकाशित: १८ असार २०८३, बिहीबार