काठमाडौं ।
कोटहीमाई गा.पा. ५ बेनिनगरबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको २० लाख ५० हजार रुपैयाँ बराबरका ३५ थान आईफोन र एउटा मोटरसाइकलसहित एक जनालाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा रुपन्देही, कोटहीमाई गा.पा. २ बस्ने ३६ वर्षीय पवन कुमार मुराव रहेका नेपाल प्रहरीले जनाएको छ।
निजले चलाएको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्ने क्रममा भारतबाट भन्सार छलेर ल्याइएका विभिन्न मोडेलका ३५ थान आईफोन बरामद गरिएको हो।
बरामद आईफोनको अनुमानित मूल्य १९ लाख ७० हजार रुपैयाँ रहेको छ भने अनुमानित ८० हजार रुपैयाँ मूल्य बराबरको निजले चलाएको भारतीय मोटरसाइकलसमेत गरी जम्मा २० लाख ५० हजार रुपैयाँ बराबरको सामान बरामद गरिएको छ।
घटनामा आईफोन, मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।
प्रकाशित: १५ असार २०८३, सोमबार