यौनजन्य प्रकृतिका डीपफेक सामग्रीबाट प्रयोगकर्तालाई जोगाउनेतर्फ थप कदम चाल्न मेटालाई बोर्डको निर्देशन

  • Technology Khabar | ११ असार २०८३, बिहीबार
यौनजन्य प्रकृतिका डीपफेक सामग्रीबाट प्रयोगकर्तालाई जोगाउनेतर्फ थप कदम चाल्न मेटालाई बोर्डको निर्देशन

काठमाडौं ।

मेटाले यौनजन्य प्रकृतिका डीपफेक सामग्रीबाट सामान्य प्रयोगकर्तालाई जोगाउन थप कदम चाल्नुपर्ने भन्दै मेटा ओभरसाइट बोर्डलेले कम्पनीलाई सिफारिस गरेको छ।

ओभरसाइट बोर्डले एआईमार्फत सिर्जना गरिएका यौनिक नक्कली तस्बिर तथा भिडियोहरूलाई मेटाको “वयष्क यौनजन्य शोषण” नीतिमा स्पष्ट रूपमा समावेश गर्न सुझाव दिएको छ। बोर्डका अनुसार यस्ता सामग्रीहरू सम्बन्धित व्यक्तिको सहमतिबिना बनाइएका मानिनुपर्छ।

बोर्डले प्रयोगकर्तालाई “सम्बद्ध खाता” तोक्ने सुविधा दिन पनि सिफारिस गरेको छ। यसअन्तर्गत विश्वासिला साथी वा परिवारका सदस्यले सम्बन्धित व्यक्तिको तर्फबाट गैर–सहमतिमा साझा गरिएका घनिष्ठ तस्बिर वा भिडियोबारे उजुरी दिन सक्नेछन्।

यसका साथै एआईद्वारा सिर्जना गरिएका यौनजन्यक प्रतिरूपण सम्बन्धी उजुरीलाई कम्पनीको सामग्री रिपोर्टिङ र पुनरावलोकन प्रणालीमा छुट्टै श्रेणीका रूपमा राख्न बोर्डले सुझाव दिएको छ। हाल टेक्सस र फ्लोरिडाका प्रयोगकर्ताले मात्र डीपफेक घनिष्ठ सामग्रीबारे विशेष फाराममार्फत उजुरी दिन सक्छन्। बोर्डले यो सुविधा विश्वभरका सबै प्रयोगकर्ताका लागि उपलब्ध हुनुपर्ने बताएको छ।

यी सिफारिसहरू बोर्डले इन्स्टाग्राममा एक महिलाको यौनिक डीपफेक भिडियोबारे गरिएको उजुरीमाथि अनुसन्धान गरेपछि सार्वजनिक गरेको हो। उक्त भिडियोमा एक महिला आफ्नो पोसाक मिलाइरहेको देखिन्थ्यो र केही दृश्यमा उनको अन्तर्वस्त्र देखिन्थ्यो। उजुरीकर्ताले भिडियोमा देखाइएकी महिला आफ्नो साथी भएको बताएका थिए। सम्बन्धित महिलाले त्यसबेलासम्म आफ्नो खाता बन्द गरिसकेकी थिइन्।

दुई प्रयोगकर्ताले भिडियोबारे रिपोर्ट गरे पनि मेटाले सामग्री हटाएको थिएन। एक प्रयोगकर्ताले कम्पनीको निर्णयविरुद्ध अपिल गरेपछि पनि भिडियो हटाइएन। पछि ओभरसाइट बोर्डले विषय उठाएपछि मेटाले उक्त पोस्टलाई वयस्क प्रयोगकर्तामा मात्र सीमित गरेको थियो, तर सामुदायिक मापदण्ड उल्लंघन नभएको निष्कर्ष निकालेको थियो।

मेटाले बोर्डलाई दिएको जानकारीअनुसार भिडियो पहिलो पटक रिपोर्ट हुँदा सामग्रीमा देखाइएको व्यक्ति वास्तविक व्यक्ति हो भन्ने संकेत कम्पनीसँग थिएन। यदि सम्बन्धित व्यक्तिले आफैं उजुरी दिएको भए उक्त सामग्री कम्पनीको नीतिविरुद्ध मानिने थियो।

मेटाका अनुसार गैर–सहमतिको प्रमाणका रूपमा सम्बन्धित व्यक्तिको उजुरी, कानुन कार्यान्वयन निकाय, सञ्चारमाध्यम वा विश्वसनीय साझेदारबाट आएको जानकारीलाई मान्यता दिइन्छ।

बोर्डले भने मेटाको वर्तमान प्रणालीले सार्वजनिक व्यक्तित्व नभएका मानिसहरूका लागि गैर–सहमति प्रमाणित गर्ने सबैभन्दा प्रभावकारी उपाय आफैंले उजुरी दिनु मात्र बनाएको जनाएको छ। साधारण व्यक्तिका लागि प्रहरी वा सञ्चारमाध्यमको सहयोग लिन सजिलो नहुने बोर्डको भनाइ छ।

इन्ग्याजेटका अनुसार बोर्डले उक्त विशेष घटनामा मेटाको निर्णय उल्ट्याउँदै भिडियो हटाउन निर्देशन दिएको छ। कम्पनीले बोर्डका सिफारिसबारे प्रतिक्रिया दिनुपर्ने भए पनि ती लागू गर्न कानुनी रूपमा बाध्य भने छैन।

बोर्डले आफ्नो प्रतिवेदनमा एआई उपकरणहरूको पहुँच, गति र क्षमतामा भएको वृद्धिका कारण विश्वभर गैर–सहमतिमा बनाइएका यौनिक डीपफेक सामग्री तीव्र रूपमा फैलिएको उल्लेख गरेको छ। यस्ता भिडियोहरूले व्यक्तिको प्रतिष्ठा र मानसिक स्वास्थ्यमा असर पार्ने तथा विशेषगरी महिला र किशोरीहरूलाई बढी प्रभावित गर्ने बोर्डको निष्कर्ष छ।

यो एआई सामग्री र सामग्री व्यवस्थापनसम्बन्धी विषयमा बोर्डले मेटाको आलोचना गरेको पहिलो घटना भने होइन। सन् २०२५ को मध्यतिर बोर्डले कम्पनीको नियम कार्यान्वयन प्रणालीलाई “असंगत र औचित्यहीन” भनेको थियो। त्यसअघि मार्चमा बोर्डले एआई सामग्रीका लागि गलत सूचना नीतिभन्दा छुट्टै नियम बनाउन पनि मेटालाई आग्रह गरेको थियो।

प्रकाशित: ११ असार २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

रियलमी पी४एक्स आधिकारिक रूपमा उपलब्ध

  • Technology Khabar
  • ११ असार २०८३, बिहीबार