
काठमाडौं ।
नेपाल टेलिकमले आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै ‘फिफा वर्ल्ड कप २०२६ टिभी प्याकेज’ सार्वजनिक गरेको छ।
विश्वकै सबैभन्दा लोकप्रिय फुटबल प्रतियोगिता फिफा विश्वकप २०२६ लाई मध्यनजर गर्दै कम्पनीले आफ्ना आईपीटिभी ग्राहकका लागि विशेष टिभी प्याकेज उपलब्ध गराएको जनाएको छ। यसअन्तर्गत आईपीटिभी ग्राहकले ९९९ रुपैयाँमा उक्त प्याकेज खरिद गरी विश्वकपका सबै खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्।
एनटीटीभी ग्राहकले आफ्नो टेलिभिजन सेटमार्फत हिमालयन स्पोर्ट्स च्यानल चयन गरेपछि स्क्रिनमा छुट्टै इन्ट्री स्क्रिन प्राप्त गर्नेछन्। उक्त स्क्रिनमा नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड मोबाइल नम्बर राखेपछि ओटीपी प्राप्त हुनेछ।
प्राप्त ओटीपी टिभी स्क्रिनमा प्रविष्ट गरेपछि ग्राहकको मोबाइल ब्यालेन्सबाट ९९९ रुपैयाँ कट्टा भई प्याकेज तत्काल सक्रिय हुनेछ। साथै, नजिकको नेपाल टेलिकम ग्राहक सेवा केन्द्रबाट पनि उक्त प्याकेज सक्रिय गर्न सकिने व्यवस्था गरिएको छ।
नेपाल टेलिकमले आगामी जेठ २६ गतेदेखि साउन ३ गतेसम्म वार्षिक १०० एमबीपीएस वा सोभन्दा माथिको ‘इन्टरनेट विथ प्रिमियम आईपीटिभी’ प्याकेज नयाँ जडान गर्ने, नवीकरण गर्ने वा १०० एमबीपीएस भन्दा कम गतिको प्याकेजबाट १०० एमबीपीएस वा सोभन्दा माथिको प्याकेजमा स्तरोन्नति हुने ग्राहकलाई फिफा विश्वकप २०२६ टिभी प्याकेज बोनसका रूपमा निःशुल्क उपलब्ध गराउने जनाएको छ।
उक्त बोनस प्याकेज प्राप्त गर्न ग्राहकले आफ्नो मोबाइलबाट *१४१६# डायल गर्न सक्ने बताईएको छ।
प्रकाशित: २५ जेष्ठ २०८३, सोमबार