
काठमाडौं ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा रहेका नासाका अन्तरिक्ष यात्रीहरूलाई दिइएको आकस्मिक उद्धार तयारीसम्बन्धी चेतावनी रूसी खण्डमा भएको हावाको चुहावट मर्मतपछि हटाइएको छ।
आईएसएसमा रहेको नासा को क्रू-१२ मिसनका चार सदस्य — अमेरिकी अन्तरिक्ष यात्री जेसिका मेयर र ज्याक ह्याथवे, फ्रान्सेली अन्तरिक्ष यात्री सोफी अडेनो तथा रूसी अन्तरिक्ष यात्री आन्द्रेई फेद्याएभ — लाई शुक्रबार (जुन ५) आफ्नो स्पेससुट लगाएर डक गरिएको क्रू ड्रागन अन्तरिक्ष यानभित्र सुरक्षित बस्न निर्देशन दिइएको थियो।
सोही समयमा स्टेशनको रूसी टोलीका दुई सदस्यले संरचनात्मक क्षतिबाट भइरहेको हावा चुहावट रोक्ने प्रयास गरिरहेका थिए।
घटना विकसित हुँदै गर्दा नासा की प्रेस सचिव बेथानी स्टिभेन्सले एक्समा लेखेकी थिइन्, “नयाँ चुहावट देखिएपछि रोस्कस्मसले शुक्रबार, जुन ५ मा थप व्यापक मर्मत कार्य गर्ने निर्णय गरेको छ।
अतिरिक्त सावधानी अपनाउँदै नासाले स्पेसएक्स क्रू-१२ का चार सदस्य र नासाका अन्तरिक्ष यात्री क्रिस विलियम्सलाई मर्मत कार्य चलिरहँदा ड्रागन अन्तरिक्ष यानभित्र उच्च सुरक्षा अवस्थामै बस्न निर्देशन दिएको छ।”
विलियम्स रूसको सोयुज एमएस-२८ मिसनमार्फत आईएसएस पुगेका नासा का अन्तरिक्ष यात्री हुन्। यदि आपतकालीन अवस्था जारी रहन्थ्यो भने उनले रूसी अन्तरिक्ष यात्रीहरूसँगै उद्धार प्रक्रिया अपनाउनुपर्ने थियो।
रूसी टोलीले चुहावट टाल्ने प्रारम्भिक प्रयास गरेपछि एउटा चुहावट सफलतापूर्वक नियन्त्रणमा आएको थियो। त्यसपछि रोस्कस्मसले थप मापन र तथ्याङ्कको मूल्याङ्कनका लागि संरचनात्मक मर्मत कार्य अस्थायी रूपमा रोकिएको घोषणा गर्यो।
लाइभसाइन्सका अनुसार स्टिभेन्सले अर्को पोस्टमा लेखेकी थिइन्, “नासाले ड्रागन अन्तरिक्ष यानभित्र रहेका सदस्यहरूलाई सुरक्षित आश्रय प्रक्रिया अन्त्य गरी अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा निर्धारित कार्यमा फर्किन निर्देशन दिएको छ।”
चुहावट भएको स्थान पीआरके मोड्युल हो, जुन रूसी ज्वेज्दा सेवा मोड्युललाई प्रोग्रेस डकिङ पोर्टसँग जोड्ने स्थानान्तरण सुरुङ हो। प्रोग्रेस यान रोस्कस्मसका सामग्री आईएसएस सम्म पुर्याउन प्रयोग गरिन्छ।
यस मोड्युलमा बनेका सूक्ष्म चिराबाट हुने हावा चुहावट सन् २०१९ देखि नासा र रोस्कस्मस दुवैका लागि लगातार समस्या बन्दै आएको छ। त्यसैले ज्वेज्दा मोड्युलतर्फ जाने ढोका सामान्यतया बन्द राखिने र सामान आपूर्ति हुँदा मात्र खोलिने गरिएको छ। चुहावट रोक्न धेरै प्रयास भए पनि समस्या पूर्ण रूपमा समाधान हुन सकेको छैन।
सार्वजनिक रूपमा यसको गम्भीरता कम देखाइए पनि नासा ले रूसी मोड्युलको चुहावटलाई उच्च जोखिमयुक्त र गम्भीर परिणाम ल्याउन सक्ने समस्या मानेको छ। आर्स टेक्निकाका अनुसार यसबाट “विनाशकारी विफलता” समेत हुन सक्ने सम्भावना रहेको नासा को मूल्याङ्कन छ।
हालका लागि चुहावटबाट उत्पन्न खतरा नियन्त्रणमा आएको देखिए पनि यस घटनाले आईएसएसको आयु थप लम्ब्याउने योजनालाई अझ जटिल बनाउन सक्ने अनुमान गरिएको छ।
आईएसएसलाई मूल रूपमा सन् २०३० को अन्त्यसम्म सञ्चालन गरेर त्यसपछि पृथ्वीको वायुमण्डलतर्फ फर्काई प्रशान्त महासागरमा खसाल्ने योजना थियो।
तर नासा र अमेरिकी कंग्रेसले निजी अन्तरिक्ष स्टेशनहरू सञ्चालनमा आउन समय दिन आईएसएसको आयु कम्तीमा सन् २०३२ सम्म विस्तार गर्ने सम्भावनाबारे विचार गरिरहेका छन्। उता रूसले भने सकेसम्म छिटो आईएसएसबाट अलग हुने इच्छा बारम्बार व्यक्त गर्दै आएको छ।
प्रकाशित: २५ जेष्ठ २०८३, सोमबार