दक्षिण कोरियाको अर्को ठूलो औद्योगिक क्षेत्र रोबोटिक्स हुनेछ: हुआङ

  • Technology Khabar | २४ जेष्ठ २०८३, आईतवार
दक्षिण कोरियाको अर्को ठूलो औद्योगिक क्षेत्र रोबोटिक्स हुनेछ: हुआङ

काठमाडौं ।

एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले दक्षिण कोरियाको अर्को ठूलो औद्योगिक क्षेत्र रोबोटिक्स हुने बताएका छन्। सात महिनाभित्र दोस्रो पटक दक्षिण कोरिया पुगेका ह्वाङले चिप्सका साथै रोबोटिक्स र एआई कारखानामा पनि स्थानीय कम्पनीहरूसँगको सहकार्य गहिरिँदै गएको संकेत दिएका छन्।

दक्षिण कोरिया चिप, इलेक्ट्रोनिक्स, सवारीसाधन र जहाज उत्पादनका लागि परिचित एशियाली उत्पादन केन्द्र हो। ताइवानबाट उडान भरेर गिम्पो अन्तर्राष्ट्रिय विमानस्थल पुगेपछि पत्रकारहरूसँग कुरा गर्दै ह्वाङले भविष्यमा चिप उत्पादन एआई र रोबोटिक्सबाट झन् बढी सञ्चालित हुने बताए।

उनले विश्वकै उत्पादन केन्द्रका रूपमा रहेको दक्षिण कोरियामा रोबोटिक्स र भौतिक एआई प्रविधिलाई उद्योगमा प्रयोग गर्ने ठूलो अवसर रहेको बताए। साथै, स्थानीय अर्धचालक कम्पनीहरूसँग सहकार्यको सम्भावना पनि बलियो रहेको उनको भनाइ थियो।

रोयटर्सका अनुसार आफ्नो भ्रमणका क्रममा ह्वाङले होण्डाई मोटर, एलजी, एसके हाइनिक्स, सामसङ इलेक्ट्रोनिक्स र नाभेरका अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताए।

“के म कोरियाका लागि उपहार लिएर आएको छु? मैले कोरियाका लागि धेरै व्यवसाय ल्याएको छु,” उनले भने। “मसँग केही आश्चर्यजनक घोषणा पनि छन्।”

भ्रमणको पहिलो चरणमा ह्वाङले सोलस्थित एक इन्टरनेट क्याफेमा पुगेर ई–स्पोर्ट्स खेलाडीहरूसँग भेट गरे। त्यहाँ उनले “फेकर” नामले परिचित ई–स्पोर्ट्स स्टार ली साङ-हायोकसँग पनि भेट गरेका थिए। उनकी छोरी म्याडिसन ह्वाङ पनि प्रसिद्ध टी१ टोलीको पोशाक लगाएर साथमा थिइन्।

त्यसपछि ह्वाङले सोलको एक रेस्टुरेन्टमा एलजी समूहका अध्यक्ष कू क्वाङ-मो, एसके समूहका अध्यक्ष चे ताई-वन र नाभेरका संस्थापक ली हाए-जिनसँग कोरियन बार्बेक्यु र पेय पदार्थसहित भेटघाट गरेका थिए।

डिनरका क्रममा ह्वाङले आफ्ना साझेदार कम्पनीहरू सामसङ, एसके हाइनिक्स, नेभर र हुन्डाई मोटरको उल्लेख गर्दै सबैको व्यवसाय तीव्र रूपमा बढिरहेको बताए। उनले नयाँ एनभिडिया उत्पादनहरूमा ठूलो मात्रामा मेमोरी चिप प्रयोग हुने पनि जानकारी दिए।

ह्वाङले “एचबीएम चिप्स” लेखिएको चकलेटले ढाकिएको मकैका चिप्सको प्याकेट वितरण गरेका थिए। यो नाम एनभिडियाका एआई चिपसेटका लागि एसके हाइनिक्सले उत्पादन गर्ने उच्च-ब्यान्डविथ मेमोरी (एचबीएम) बाट प्रेरित थियो। त्यसपछि उपस्थितहरूले “एचबीएम! एचबीएम!” भन्दै नाराबाजी गरेका थिए।

ह्वाङले यसअघि सामसङ, एसके हाइनिक्स र माइक्रोन टेक्नोलोजी तीनै कम्पनीले एनभिडियाको भेरा रुबिन एआई प्लेटफर्मका लागि एचबीएम४ चिप आपूर्ति गर्न योग्यता प्राप्त गरिसकेको बताएका थिए। उनका अनुसार तीनै कम्पनी उत्पादन चरणमा छन् र भेरा रुबिनलाई समर्थन गर्न प्रतिस्पर्धा गरिरहेका छन्।

सामसङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सले संयुक्त रूपमा एनभिडियाजस्ता कम्पनीका एआई चिपका लागि आवश्यक करिब ७० प्रतिशत मेमोरी चिप उत्पादन गर्छन्।

रोयटर्सले भेरा रुबिन प्रणालीमा एओसीएएमएम क्षमतामा कटौतीबारे सोध्दा ह्वाङले मेमोरीको आपूर्ति सीमित रहेकाले सबै प्रणालीमा यसको प्रयोगलाई बुद्धिमत्तापूर्वक व्यवस्थापन गर्नुपर्ने बताए।

उनले एनभिडियाले सोलस्थित आफ्नो अनुसन्धान तथा विकास केन्द्रका लागि कर्मचारी भर्ना प्रक्रिया पनि सुरु गरिसकेको जानकारी दिए। दक्षिण कोरिया भ्रमणका क्रममा ह्वाङले बेसबल खेलमा पहिलो बल फाल्ने तथा एक टेलिभिजन टक शोमा सहभागी हुने कार्यक्रम पनि रहेको छ।

प्रकाशित: २४ जेष्ठ २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...