
काठमाडौं ।
ईयूटेलस्याट र टोटोथियो ग्लोबलले विश्वभरका सामुद्रिक ग्राहकलाई पृथ्वीको तल्लो कक्ष अर्थात् लो अर्थ अर्बिट (एलईओ) स्याटेलाइट कनेक्टिभिटी सेवा उपलब्ध गराउन सम्झौता गरेका छन्।
दुवै कम्पनीले सामुद्रिक क्षेत्रका ग्राहकहरूका साथै ग्रीस र साइप्रसमा उद्यम, नागरिक तथा सैन्य सरकारी निकायहरूलाई पनि कनेक्टिभिटी सेवा उपलब्ध गराउनेछन्।
साइप्रसको लिमासोलस्थित सामुद्रिक प्रविधि तथा कनेक्टिभिटी समाधान प्रदायक टोटोथियो ग्लोबलले युटेलसाटसँगको सहकार्यले आफ्नो कनेक्टिभिटी सेवा थप सुदृढ बनाउने र सुरक्षित तथा भरपर्दो सञ्चालन सुनिश्चित गर्न मद्दत गर्ने जनाएको छ।
टोटोथियो ग्लोबलकी सह–प्रमुख कार्यकारी अधिकृत डेस्पिना पानायोटौ थियोडोसियोउले ग्राहकहरूलाई उच्च कार्यसम्पादन, लचकता र भरपर्दोपन प्रदान गर्ने कनेक्टिभिटी समाधान उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको बताइन्।
उनका अनुसार ईयूटेलसाटको वनवेब एलईओ सेवाले सुरक्षित र कम विलम्बता (लो-लेटेन्सी) भएको कनेक्टिभिटी उपलब्ध गराउँदै सामुद्रिक, उद्यम तथा सरकारी क्षेत्रमा कार्यरत ग्राहकहरूका लागि महत्वपूर्ण क्षमता थप्नेछ।
ईयूटेलसाटको कनेक्टिभिटी व्यवसाय एकाइकी अध्यक्ष इभा बिसगार्डले सामुद्रिक कनेक्टिभिटीमा टोटोथियो ग्लोबलको गहिरो अनुभव र प्राविधिक क्षमताका कारण यो साझेदारी महत्वपूर्ण रहेको बताइन्। उनका अनुसार वनवेब एलईओ सेवामार्फत ग्राहकहरूले नेटवर्कको भरपर्दोपन बढाउन तथा सञ्चार अत्यावश्यक हुने वातावरणमा सुरक्षित र कम विलम्बता भएको कनेक्टिभिटीको लाभ लिन सक्नेछन्।
टेलिकम्स डटकमका अनुसार दूरदराजका क्षेत्रमा भरपर्दो सञ्चार आवश्यक पर्ने सामुद्रिकजस्ता उद्योगहरूमा एलईओ सेवाको माग तीव्र रूपमा बढिरहेका बेला यो सम्झौता भएको हो।
मे महिनामा सार्वजनिक गरिएको युटेलसाटको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०२५–२६ का पहिलो नौ महिनामा एलईओ कनेक्टिभिटीबाट प्राप्त आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ४९ प्रतिशतले बढेको छ। यसको विपरीत, जियोस्टेसनरी कक्षा (जीईओ) स्याटेलाइट सेवाबाट हुने आम्दानी सोही अवधिमा १० प्रतिशतभन्दा बढीले घटेको छ।
यद्यपि, ईयूटेलसाटले आफ्नो हवाई सेवा (एरो) क्षेत्रमा एलईओ र जिईओ दुवै प्रकारका सम्झौतामा निरन्तर वृद्धि भइरहेको जनाएको छ। कम्पनीले यस वर्षको सुरुआतमा आफ्नो वितरक एसईएसमार्फत जापान एयरलाइन्ससँग महत्वपूर्ण सम्झौता गरेको थियो, जसमा जीईओ क्षमता र एलईओ स्याटेलाइट समूहलाई संयोजन गरिएको छ।
ईयूटेलसाटलाई प्रायः स्टारलिङ्कको युरोपेली प्रतिस्पर्धीका रूपमा हेरिन्छ। कम्पनीलाई फ्रान्स र बेलायतको समर्थन प्राप्त छ।
प्रकाशित: २५ जेष्ठ २०८३, सोमबार