
काठमाडौं ।
दाङको तुलसीपुरलाई क्षयरोगमुक्त बनाउनका लागि ‘एआई एक्सरे’ मेसिनबाट सङ्क्रमित पहिचान गर्ने गरिएको छ । तुलसीपुरका १९ वटा वडामध्ये १७ वडामा ‘एआई एक्सरे’बाट क्षयरोगका बिरामी खोजिएको फोकल पर्सन शिवप्रसाद तिवारीले बताए।
तुलसीपुरको २ र १३ नम्बरमा भने अझै त्यसरी बिरामी खोजिएको छैन । त्यो बाहेक अन्य १७ वडामा ‘एआई एक्सरे’बाट बिरामी खोजिएको उनको भनाइ छ । विभिन्न शिविरमा उक्त मेसिन प्रयोग गरेर सङ्क्रमित खोज्ने गरिएको छ। जसले चिकित्सकलाई क्षयरोग पहिचान गराउन सहज भएको छ।
“पहिले साधारण एक्सरेबाट क्षयरोग पहिचान गर्ने गरिन्थ्यो,” उनले भने “अहिले एआई एक्सरेबाट रोग पहिचान गर्ने गरेका छौँ, त्यसले सहज बनाएको छ।”
एआई एक्सरेले साधारण माइक्रोस्कपी गर्दा पनि नदेखिएको क्षयरोगको सङ्क्रमण देखाउने गरेको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख ओमपी न्यौपानेले बताए। उनका अनुसार एआई एक्सरेमा सङ्क्रमण देखिएमा त्यसको पुष्टीका लागि पुनः ‘जीनएक्सपर्ट’ मेसिनमा परीक्षण गरिन्छ । यो सेवा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको छ।
“हामीले पहिले एआइएक्सरे मेसिनबाट हेर्छौँ, त्यसपछि जीनएक्सपर्ट मेसिनमा परीक्षण गरेपछि पोजेटिभ देखिएमा उपचार सुरु गर्छौँ”, शाखा प्रमुख न्यौपानेले भने, “यसरी हामीले सङ्क्रमित पहिचान गरी उपचार गर्ने गरेका छौँ ।
सङ्क्रमितलाई ‘डटस्’ अर्थात प्रत्येक दिन निगरानी गरेर औषधि खुवाउने गरिएको छ । यसरी छ महिनासम्म प्रत्येक्ष स्वास्थ्यकर्मीको निगरानीमा औषधि खुवाउने गरिएको शाखा प्रमुख न्यौपानेले बताए। रासस
प्रकाशित: २३ जेष्ठ २०८३, शनिबार