
काठमाडौं ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले कार्यालयमा सेवा प्रवाहलाई थप प्रभावकारी, मर्यादित तथा अनुशासित बनाउन कार्यालय समयभित्र सामाजिक सञ्जाल प्रयोगमा रोक लगाएको छ।
कार्यालयले बिहीबार एक सूचना जारी गर्दै कार्यालय समयभित्र सामाजिक सञ्जाल प्रयोगमा रोक लगाएको हो। बिहान १० बजेदेखि साँझ ४ बजेसम्म कार्यालयमा कार्यरत कर्मचारी तथा सेवाग्राहीले फेसबुक, टिकटक र युट्युब प्रयोगमा रोक लगाएको सानीभेरी गाउँपालिकाले जनाएको छ।
कार्यालय समयभित्र सामाजिक सञ्जालको अत्यधिक प्रयोगले सेवाप्रवाहमा असर परेको भन्दै कार्यसम्पादनमा सुधार ल्याउन उक्त निर्णय गरिएको सानीभेरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरविर खड्काले जानकारी दिए। उनका अनुसार सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था लागू गरिएको हो ।
गाउँपालिकाले सम्बन्धित सबै कर्मचारी तथा सेवाग्राहीलाई सूचनाको पालना गर्न अनुरोध गरेको छ। साथै सेवाग्राहीलाई आवश्यक सूचना तथा सेवाका लागि वैकल्पिक व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ।
सानीभेरी गाउँपालिकाको यो कदमले कार्यालयको कार्यक्षमता वृद्धि हुनुका साथै सेवाग्राहीले समयमै सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ। रासस
प्रकाशित: २२ जेष्ठ २०८३, शुक्रबार