
काठमाडौं ।
ललितपुरस्थित पुल्चोक इन्जिनीयरिङ क्याम्पसका अन्तिम वर्षका विद्यार्थी तथा हालै स्नातक गरेका विद्यार्थीहरूलाई लक्षित गर्दै ‘सेतु २०२६’ नामक तीनदिने करियर अभिमुखी कार्यक्रम आयोजना हुने भएको छ।
विद्यार्थीहरूको नेतृत्वमा सञ्चालन हुने कार्यक्रमले इन्जिनियरिङ शिक्षा र व्यावसायिक क्षेत्रबीचको दूरी कम गर्दै विद्यार्थीहरूलाई करियर, रोजगारी तथा व्यावसायिक विकासका अवसरसँग जोड्ने लक्ष्य राखेको आयोजकले जनाएको छ।
कार्यक्रमको पहिलो दिन विभिन्न क्षेत्रका विज्ञ, उद्योग प्रतिनिधि तथा पूर्वविद्यार्थीसँग अन्तरक्रिया गरिनेछ। उक्त सत्रमार्फत विद्यार्थीहरूले आफ्नो विषयसँग सम्बन्धित करियरका सम्भावना, उद्योग, अनुसन्धान, उद्यमशीलता, लोकसेवा, उच्च शिक्षा तथा विदेश अध्ययनलगायतका विषयमा जानकारी प्राप्त गर्नेछन्।
दोस्रो दिन व्यक्तिगत विवरण सीभी तथा पोर्टफोलियो निर्माणसम्बन्धी कार्यशाला र छायाँ अन्तरवारर्ता सञ्चालन गरिनेछ। यसले विद्यार्थीहरूलाई रोजगार बजारमा प्रवेशका लागि आवश्यक सीप र तयारी विकास गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रमको तेस्रो दिन उद्योग तथा संस्थाहरूको प्रत्यक्ष सहभागितामा प्लेसमेन्ट सेसन आयोजना गरिनेछ। सहभागी उद्योग तथा संस्थाहरूले विद्यार्थीहरूसँग अन्तर्वार्ता लिई आफ्नो आवश्यकता अनुसार उपयुक्त उम्मेदवार छनोट गर्नेछन्। छनोट भएका विद्यार्थीहरूले सम्बन्धित संस्था तथा उद्योगमा रोजगारीका अवसर प्राप्त गर्न सक्ने जनाइएको छ।
यस्तै, कार्यक्रमको दोस्रो र तेस्रो दिन स्टार्टअप तथा उद्यमशीलतासम्बन्धी विशेष कार्यशालासमेत सञ्चालन गरिनेछ। कार्यशालामार्फत विद्यार्थीहरूलाई नवप्रवर्तन, व्यवसाय विकास तथा आफ्नै उद्यम सुरु गर्ने सम्भावनाबारे मार्गदर्शन प्रदान गरिनेछ।
आयोजकका अनुसार ‘सेतु २०२६’ ले विद्यार्थी, उद्योग, पूर्वविद्यार्थी तथा शैक्षिक संस्थाबीच सहकार्यको वातावरण सिर्जना गर्दै दक्ष, सक्षम र रोजगारमुखी इन्जिनियर उत्पादनमा योगदान पुर्याउने विश्वास लिइएको छ।
प्रकाशित: २२ जेष्ठ २०८३, शुक्रबार