राजनीतिक यथास्थिति कायम राख्न सके विश्वव्यापी आपूर्ति शृंखला सुरक्षित गर्न सकिन्छ: ताइवानी राष्ट्रपति

  • Technology Khabar | २० जेष्ठ २०८३, बुधबार
राजनीतिक यथास्थिति कायम राख्न सके विश्वव्यापी आपूर्ति शृंखला सुरक्षित गर्न सकिन्छ: ताइवानी राष्ट्रपति

काठमाडौं ।

ताइवानका राष्ट्रपति लाइ चिङ-ते ले मंगलबार राजनीतिक यथास्थिति कायम राख्नु नै विश्वव्यापी आपूर्ति शृंखला सुरक्षित गर्न टापुले गर्न सक्ने सबैभन्दा जिम्मेवार काम भएको बताएका छन्। उनले यो धारणा विश्वका प्रमुख प्रविधि कम्पनीका नेताहरू वार्षिक सम्मेलनमा सहभागी भइरहेका बेला व्यक्त गरेका हुन्।

ताइवानले एनभिडिया र एप्पल लगायतका कम्पनीहरूको विश्वव्यापी कृत्रिम बुद्धिमत्ता (एआई) आपूर्ति शृंखलामा महत्वपूर्ण भूमिका खेल्छ। यसको आधार विश्वकै सबैभन्दा ठूलो कन्ट्र्याक्ट चिप निर्माता टीएसएमसी हो।

ताइपेइमा आयोजित कम्प्युटेक्सको उद्घाटन समारोहमा लाइले भने, “एआईप्रतिको विश्वको आवश्यकता बढ्दै जाँदा स्थिर, विश्वासयोग्य र जिम्मेवारी वहन गर्न सक्षम ताइवानको आवश्यकता पनि बढ्दै गएको छ।”

उनले सरकारले ताइवान जलडमरूमध्यमा शान्ति र स्थायित्व कायम राख्न दृढतापूर्वक काम गर्ने र यथास्थिति कायम राख्न प्रतिबद्ध रहेको बताए। उनका अनुसार यो विश्वव्यापी आपूर्ति शृंखलाप्रति ताइवानको सबैभन्दा जिम्मेवार प्रतिबद्धता हो।

रोयटर्सका अनुसार चीनले लोकतान्त्रिक शासन प्रणाली रहेको ताइवानलाई आफ्नो भूभागको हिस्सा मान्छ र लगभग दैनिक रूपमा टापुको वरिपरि युद्धपोत तथा सैन्य विमान परिचालन गर्दै आएको छ। ताइवान सरकारले भने बेइजिङको सार्वभौमसत्तासम्बन्धी दाबी अस्वीकार गर्दै आएको छ।

चीनका राष्ट्रपति शि जिनपिङले मे महिनामा भएको शिखर वार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लाई ताइवानको विषय गलत ढंगले व्यवस्थापन गरिए दुई शक्तिबीच द्वन्द्व निम्तिन सक्ने बताएका थिए

सम्मेलनमा सहभागी एनभिडिया र इन्टेलका प्रमुख कार्यकारी अधिकृतहरूले चिप आपूर्ति शृंखलामा ताइवानको केन्द्रीय भूमिकालाई जोड दिएका छन्। एआईको तीव्र बढ्दो माग पूरा गर्न सीमित उत्पादन क्षमताका लागि प्रतिस्पर्धा बढिरहेका बेला उनीहरूले यस्तो बताएका हुन्।

इन्टेलका सीईओ लिप बु टानले ताइपेइमा आयोजित कम्प्युटेक्स सम्मेलनमा भने, “डिजाइनदेखि उत्पादनसम्म सबै कुरा ताइवानमै छ।”

उनले कम्पनीका विभिन्न साझेदारीहरू रहेको र ती साझेदारीलाई अझ विस्तार गर्ने योजना रहेको बताए, तर थप विवरण खुलाएनन्।

एनभिडियाका सीईओ जेन्सेन हुआङले पत्रकारहरूसँग कुरा गर्दै ताइवान अमेरिका लागि राम्रो रणनीतिक साझेदार भएको बताए। उनले हरेक कम्पनीको आपूर्ति शृंखला विविधीकृत हुनुपर्ने उल्लेख गर्दै त्यसले लचकता बढाउने बताए। उनले भने, “तर यसले ताइवानको उत्पादन क्षमताको महत्व कम गर्दैन। विशेषगरी प्रविधि उत्पादनमा ताइवान असाधारण छ। यही नै सम्पूर्ण इकोसिस्टमको केन्द्र हो।”

यो अभिव्यक्ति उनले गत साता ५ ट्रिलियन डलर मूल्याङ्कन भएको चिप कम्पनी एनभिडियाले ताइवानमा वार्षिक करिब १५० अर्ब डलर लगानी गर्ने योजना घोषणा गरेपछि दिएका हुन्।

ह्वाङले एनभिडियाको नयाँ ताइवानी मुख्यालयमा हालका १,००० कर्मचारीको तुलनामा ४,००० सम्म कर्मचारी राख्ने योजना रहेको बताए। उक्त मुख्यालय सन् २०३० सम्म सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

आयोजकहरूका अनुसार यस वर्षको कम्प्युटेक्स व्यापार प्रदर्शनीमा एआई, कम्प्युटिङ, रोबोटिक्स तथा अन्य नयाँ पुस्ताका प्रविधि क्षेत्रका ६,००० भन्दा बढी प्रदर्शक सहभागी भएका छन्, जुन अहिलेसम्मकै उच्च संख्या हो।

प्रकाशित: २० जेष्ठ २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार