एनभिडियाले सार्वजनिक गर्यो एआईलाई सिधै ल्यापटप र डेस्कटप कम्प्युटरमा ल्याउने नयाँ चिप

  • Technology Khabar | २० जेष्ठ २०८३, बुधबार
एनभिडियाले सार्वजनिक गर्यो एआईलाई सिधै ल्यापटप र डेस्कटप कम्प्युटरमा ल्याउने नयाँ चिप
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

एनभिडियाले सोमबार कृत्रिम बुद्धिमत्ता (एआई) क्षमतालाई सिधै ल्यापटप र डेस्कटप कम्प्युटरमा ल्याउने नयाँ चिप सार्वजनिक गरेको छ। यससँगै कम्पनी एएमडी, इन्टेल र एप्पलजस्ता प्रतिस्पर्धीहरूसँग प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिएको छ।

ताइवानमा आयोजित कम्प्युटेक्स सम्मेलनमा सहभागी भएका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले आरटीएक्स स्पार्क पीसी चिप एआई युगका लागि पीसीलाई पुनःपरिकल्पना गर्ने उद्देश्यले माइक्रोसफ्टसँग तीन वर्षदेखि भइरहेको सहकार्यको हिस्सा रहेको बताए।

ताइवानको मिडियाटेकसँग मिलेर विकास गरिएको यो चिप यस वर्षको शरद ऋतुमा डेल, एचपी,लेनोभो,असुस,माइक्रोसफ्ट सर्फेस र एमएसआईका ल्यापटप तथा साना डेस्कटप कम्प्युटरमा उपलब्ध हुनेछ। एसर र गिगाबाइटका मोडलहरू पनि पछि आउनेछन्।

उद्योग विश्लेषकहरूका अनुसार यो प्रोसेसरले एआईसँगको प्रयोगको शैली परिवर्तन गर्नेछ, किनभने यसलाई क्लाउड कम्प्युटिङमा मात्र निर्भर नरही स्थानीय रूपमा स्वचालित एआई एजेन्टहरू सञ्चालन गर्न डिजाइन गरिएको छ।

रोयटर्सका अनुसार एआई मोडललाई प्रशिक्षण दिने चिप बजारमा प्रभुत्व कायम गरिसकेको एनभिडिया अब प्रयोगकर्ताका प्रश्नको उत्तर दिने र नियमित काम गर्ने एआई एजेन्टहरू सञ्चालन गर्ने ‘इन्फरेन्स’ प्रोसेसरको बढ्दो मागबाट लाभ लिन चाहन्छ। पीसी बजारलाई लक्षित गर्दै कम्पनीले आफ्नो ठूलो उत्पादन क्षमता र एआई विशेषज्ञताको सहायताले नयाँ बजार विस्तार गर्ने रणनीति अपनाएको छ।

एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले मंगलबार कम्पनीसँग कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र वृद्धिलाई समर्थन गर्न पर्याप्त केन्द्रीय प्रशोधन इकाइ (सीपीयू) र ग्राफिक्स प्रशोधन इकाइ (जीपीयू) आपूर्ति रहेको बताएका छन्।

विश्वभरका प्रमुख डाटा सेन्टरहरूमा प्रयोग हुने यसको सेमिकन्डक्टरका कारण एआई बजारको अवस्थाको सूचक मानिने कम्पनीले आपूर्ति सम्बन्धी चुनौती भने अझै कायम रहेको स्वीकार गरेको छ। ताइपेइमा आयोजित कम्प्युटेक्स सप्ताहका क्रममा भएको पत्रकार सम्मेलनमा हुआङले भने, “हामीले ती सबै प्रणालीहरूको अत्यन्त बलियो वृद्धिका लागि पर्याप्त आपूर्ति सुनिश्चित गरेका छौं।”

उनले थपे, “हामीसँग निकै बलियो वृद्धिका लागि पर्याप्त आपूर्ति छ, तर अझै पनि आपूर्तिमा सीमितता छ।” हुआङले यो टिप्पणी कम्पनीले एआई क्षमता सिधै व्यक्तिगत कम्प्युटरमा ल्याउने नयाँ चिप सार्वजनिक गरेको एक दिनपछि गरेका हुन्।

शरद ऋतुमा बजारमा ल्याइने एनभिडियाको नयाँ चिपले कम्पनीलाई एएमडी,इन्टेल र एप्पलजस्ता कम्पनीहरूसँग प्रतिस्पर्धामा उतार्नेछ। हुआङका अनुसार आटीएक्स स्पार्क पीसी चिप एआई युगका लागि पीसीलाई पुनःपरिकल्पना गर्ने उद्देश्यले माइक्रोसफ्ट सँगको सहकार्यको हिस्सा हो।

ताइवानको दक्षिणी सहर ताइनानमा जन्मिएका हुआङले गत साता ताइवानमा वार्षिक करिब १५० अर्ब डलर लगानी गर्ने योजना घोषणा गरेका थिए। उनले ताइवानलाई एआई क्रान्तिको केन्द्रबिन्दुको रूपमा वर्णन गरेका छन्।

हालसम्म एआई पीसीको बजार प्रतिक्रिया मिश्रित रहेको छ। एचपीले गत साता एआई पीसीले त्रैमासिक बिक्रीलाई सहयोग गरेको जनाएको थियो भने डेलले यस वर्षको सुरुआतमा माग अपेक्षाभन्दा कम रहेको बताएको थियो। क्वालकमले पनि माइक्रोसफ्टसँग मिलेर एआई पीसी बजारमा प्रवेश गरिरहेको छ।

काउन्टरपोइन्ट रिसर्चका सह-संस्थापक निल शाहले आरटीएक्स स्पार्कले परम्परागत एप-केन्द्रित पीसीलाई वास्तविक उपयोगी एआई एजेन्टयुक्त व्यक्तिगत कम्प्युटरमा रूपान्तरण गर्ने बताए। उनका अनुसार आगामी वर्षहरूमा निजी एआई एजेन्टहरू महत्वपूर्ण बन्दै जाँदा यस्ता कम्प्युटरहरू अधिकांश घरमा पुग्नेछन्।

एनभिडियाको शेयर मूल्य ४ प्रतिशतले बढ्दा एएमडी, इन्टेल र क्वालकमका शेयर ४.९ प्रतिशतदेखि ८.५ प्रतिशतसम्म घटेका छन्। एप्पलको शेयर ०.८ प्रतिशतले घटेको छ भने माइक्रोसफ्टको शेयर २.७ प्रतिशतले बढेको छ। एचपी र डेलका शेयर ७ प्रतिशतभन्दा बढी बढेका छन् भने हङकङमा लेनोभोको शेयर ५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

सोमबारको आफ्नो मुख्य प्रस्तुतीकरणमा हुआङले कम्पनीको पीसी र सीपीयू रणनीतिमा विशेष जोड दिएका थिए। उनले ओपनएआई, एन्थ्रोपिक र स्पेसएक्स कम्पनीहरू एनभिडियाको भेरा प्रोसेसरका प्रारम्भिक प्रयोगकर्तामध्ये रहेको बताए।

कम्प्युटेक्स प्रदर्शनी जुन २ देखि ५ सम्म सञ्चालन हुँदैछ। प्रदर्शनीमा विश्वका प्रमुख प्रविधि कम्पनीका नेतृत्वकर्ताहरू सहभागी भएका छन्।

पीसीमा स्थानीय रूपमा चल्ने एआई एजेन्टबारे एनभिडियाको जोड क्वालकमका प्रमुख कार्यकारी अधिकृत क्रिस्टियानो आमोनको भनाइसँग पनि मेल खान्छ। उनले सन् २०२६ लाई एआई एजेन्टहरूको महत्वपूर्ण वर्ष हुने बताएका छन्।

आमोनका अनुसार उद्योग साधारण प्रश्न–उत्तर दिने एआईबाट पूर्ण रूपमा स्वायत्त एआई एजेन्टतर्फ अघि बढिरहेको छ। उनले अहिलेका उपकरणहरूको संरचना सधैं सक्रिय रहने स्वचालित एआई प्रणालीका लागि तयार नगरिएको बताए।

मे महिनाको आम्दानीसम्बन्धी छलफलका क्रममा हुआङले एनभिडियाको नयाँ भेरा प्रोसेसरले कम्पनीलाई २०० अर्ब डलर बराबरको नयाँ बजारमा प्रवेश गराउने बताएका थिए।

“यो (भेरा सीपीयू) हाम्रो नयाँ प्रमुख वृद्धि चालक बन्नेछ,” उनले कम्पनीका नवीनतम एआई उत्पादनहरू प्रस्तुत गर्दै भने।

हुआङले एआईका कारण सफ्टवेयर इन्जिनियरहरूको माग घट्ने दावीलाई “पूर्ण रूपमा निरर्थक” बताएका छन्। उनका अनुसार एआईले कर्मचारीको उत्पादकता बढाउने भएकाले थप सफ्टवेयर इन्जिनियर भर्ती गर्न मद्दत गर्नेछ। “एआईले रोजगारी घटाउँछ भन्ने कुरा पूर्ण रूपमा निरर्थक हो। यसले अझ धेरै सफ्टवेयर इन्जिनियरहरू भर्ती गर्न प्रेरित गरिरहेको छ,” उनले भने।

ताइवानको ताइनानमा जन्मिएका हुआङले गत साता ताइवानमा वार्षिक करिब १५० अर्ब डलर लगानी गर्ने योजना घोषणा गरेका थिए। उनले ताइवानलाई एआई क्रान्तिको केन्द्रबिन्दुका रूपमा वर्णन गरेका छन्।

ताइपेइ म्युजिक हलमा भएको उनको सम्बोधन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग चीन भ्रमणमा सहभागी भएको करिब दुई सातापछि भएको हो। उक्त भ्रमणमा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि भेट गरेका थिए।

प्रकाशित: २० जेष्ठ २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार