
काठमाडौं ।
माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइजुले माल्दिभ्स सरकारले १६ वर्ष मुनिका बालबालिकाहरूलाई साइबर अपराध र अन्य खतराहरूबाट जोगाउन विभिन्न सामाजिक सञ्जालमा पहुँच प्रतिबन्ध लगाउने घोषणा गरेको बताए।
साप्ताहिक पत्रकार सम्मेलनमा सोमबार बोल्दै मुइजुले अनलाइन तथा साइवर अपराधबाट बालबालिकाहरूलाई जोगाउनु स्वदेश तथा विदेशमा रहेका अभिभावकहरूका लागि प्रमुख चिन्ताको विषय बनेको बताएका छन्।
सरकारले नयाँ साइबर नीति तयार गर्दा अष्ट्रेलिया सहित अन्य देशहरूमा लागु गरिएका नियमहरूको अध्ययन गर्ने उनले बताइन्।
प्रस्तावित प्रतिबन्धले बालबालिकाका लागि जोखिमपूर्ण मानिने सामाजिक सञ्जालको प्रयोगहरूलाई लक्षित गर्ने मुइजुले बताएका छन्। सरकारले सान्दर्भिक प्रविधि कम्पनीहरूसँग परामर्श गर्ने र सामाजिक सञ्जालका मालिकहरूसँग उनीहरूको सेवाहरू माल्दिभ्सको कानून अनुरूप सम्भव बनाउन समन्वय गर्ने जनाएको छ।
राष्ट्रपति मुइजुका अनुसार यस उपाय र सर्तकताका लागि विद्यमान साइबर सुरक्षा कानुनमा संशोधन आवश्यक पर्नेछ।
प्रतिबन्धहरूले बालबालिकाको शिक्षा वा अनलाइनबाट सिक्ने क्षमतामा बाधा नपुग्ने तर सुरक्षित डिजिटल वातावरण सिर्जना गर्न मद्दत गर्ने मुइजुले प्रष्ट पारेका छन्।
सरकारले निर्धारित नियमहरुलाई छिटै अन्तिम रूप दिने र सार्वजनिक परामर्श पछि एक वर्ष भित्र पुर्ण प्रतिबन्ध लगाउने लक्ष्य राखेको पीएसएम न्यूजले जनाएको छ।
प्रकाशित: १९ जेष्ठ २०८३, मंगलवार