
काठमाडौं ।
स्पेसएक्सले ट्रम्पको ‘गोल्डेन डोम’ निर्माणमा सहयोग गर्न ४ अर्ब डलरको ठेक्का पाएको छ। यो यसै साता स्पेसएक्सलाई प्रदान गरिएको अर्को २ अर्ब डलरभन्दा बढीको ठेक्काबाहेकको रकम हो।
एलन मस्कको अन्तरिक्ष अन्वेषण, कृत्रिम बुद्धिमत्ता र दूरसञ्चार क्षेत्रमा सक्रिय कम्पनी स्पेसएक्सले अब आफ्नो कार्यक्षेत्रमा सैन्य प्रतिरक्षा पनि थप्ने भएको छ। अमेरिकी स्पेस फोर्सले राष्ट्रपति डोनाल्ड ट्र्म्पको प्रस्तावित ‘गोल्डेन डोम’ परियोजनाअन्तर्गत विदेशी विमान र क्षेप्यास्त्रको निगरानी गर्ने उपग्रह निर्माणका लागि स्पेसएक्सलाई ४.१६ अर्ब डलरको ठेक्का प्रदान गरेको हो।
इन्ग्याजेटका अनुसार स्पेस फोर्सले गोल्डेन डोमका लागि “स्पेस-बेस्ड एयरबोर्न मुभिङ टार्गेट इन्डिकेटर” नाम प्रयोग गरे पनि यो उही क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली हो, जसको लागत २० वर्षको अवधिमा १.२ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ।
स्पेस फोर्सका अनुसार यस परियोजनाले “उन्नत अन्तरिक्ष-आधारित सेन्सर, सुरक्षित तथा द्रुत सञ्चार लिंक र भरपर्दो भू-आधारित प्रशोधन प्रणाली” प्रयोग गरेर अन्तरिक्षबाट हवाई लक्ष्य पहिचान र निगरानी गर्ने विश्वव्यापी क्षमता विकास गर्नेछ।
स्पेस फोर्सले यो दीर्घकालीन परियोजनाअन्तर्गत विभिन्न ठेक्का जारी गर्ने जनाएको छ। स्पेसएक्सलाई दिइएको प्रारम्भिक ठेक्काअनुसार कम्पनीले सन् २०२८ भित्र उपग्रहहरूको एक समूह निर्माण गर्नुपर्नेछ।
यसअघि द वाल स्ट्रीट जर्नलले गत वर्षको अन्त्यतिर गोल्डेन डोम परियोजनाका लागि स्पेसएक्सले २ अर्ब डलरको ठेक्का पाउने जनाएको थियो। गोल्डेन डोम परियोजनाभन्दा बाहिर पनि स्पेस फोर्सले यसै साता स्पेसएक्सलाई २.२९ अर्ब डलरको अर्को ठेक्का प्रदान गरेको छ।
दुवै ठेक्का समान प्रकृतिका भए पनि यसअघि प्रदान गरिएको ठेक्का अन्तरिक्षमा आधारित “भरपर्दो र उच्च गतिको सञ्चार सञ्जाल” विकासका लागि हो। यद्यपि, सैन्य सञ्चारका लागि स्पेस फोर्सले स्पेसएक्सलाई रोजेको यो पहिलो पटक भने होइन। यसअघि पनि एजेन्सीले कम्पनीको स्टारशिल्ड कार्यक्रममार्फत सैन्य सञ्चार सेवा प्रयोग गर्न ७ करोड डलरको ठेक्का प्रदान गरेको थियो।
प्रकाशित: १९ जेष्ठ २०८३, मंगलवार