
काठमाडौं ।
सिंगापुरले सन् २०२७ जुलाई १ देखि रेफ्रिजरेसन र एयर कन्डिसनिङ उपकरणबाट हुने हरितगृह ग्यास उत्सर्जन नियन्त्रण गर्न नयाँ नियम लागू गर्ने भएको छ ।
राष्ट्रिय वातावरण एजेन्सीले बिहीबार जारी गरेको विज्ञप्तिमा ठूलो व्यावसायिक शीतलन प्रणाली र सवारीसाधनको एयर कन्डिसनिङलाई समेत नयाँ नियमको दायरामा ल्याइने जनाएको हो।
नयाँ व्यवस्था अन्तर्गत केन्द्रीय व्यावसायिक रेफ्रिजरेसन प्रणाली, यातायातमा प्रयोग हुने शीतलन प्रणाली तथा यात्रुवाहक सवारी र हल्का मालवाहक सवारीका एयर कन्डिसनिङ प्रणालीमा कडाइ गरिनेछ। यो कदम सिंगापुरको सन् २०३० सम्मको जलवायु लक्ष्य र सन् २०५० सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्यलाई सहयोग गर्न ल्याइएको बताइएको छ।
यसअघि सन् २०२२ मा घरायसी एयर कन्डिसनर, फ्रिज तथा ठूला भवनमा प्रयोग हुने पानीमा आधारित कुलिङ्ग सिस्टमका लागि ग्लोबल वार्मिङ क्षमता सीमा निर्धारण गरिएको थियो।
ग्लोबल वार्मिङ क्षमता भनेको कुनै ग्यासले कार्बन डाइअक्साइडको तुलनामा कति ताप वृद्धि गराउँछ भन्ने मापन हो, जुन सामान्यतया १०० वर्षको अवधिमा मूल्याङ्कन गरिन्छ।
नयाँ नियमअनुसार सुपरमार्केटमा प्रयोग हुने रेफ्रिजरेसन प्रणालीमा सन् २०२७ जुलाईदेखि १५० भन्दा बढी ग्लोबल वार्मिङ क्षमता भएका रेफ्रिजरेन्ट प्रयोग गर्न पाइने छैन । त्यसैगरी, सन् २०२८ जुलाईदेखि नयाँ दर्ता हुने यात्रुवाहक र हल्का मालवाहक सवारीका एयर कन्डिसनिङ प्रणालीले पनि यही सीमा पालना गर्नुपर्नेछ।
एजेन्सीका अनुसार यी मापदण्ड युरोपेली संघ र जापानमा लागू गरिएका कम उत्सर्जन प्रविधिसँग मिल्दोजुल्दो छन्।
प्रकाशित: १५ जेष्ठ २०८३, शुक्रबार