
काठमाडौं ।
एन्थ्रोपिकले इटालीको मिलानमा नयाँ कार्यालय खोल्ने भएको छ। यससँगै कम्पनीले युरोपमा आफ्नो विस्तारलाई थप तीव्र बनाएको छ।
सन् २०२१ मा दाजु–बहिनी डारियो अमोडेई र डानिएला अमोडेईद्वारा स्थापना गरिएको यो अमेरिकी एआई स्टार्टअपले जेनेरेटिभ एआई टुल्सको बढ्दो मागका कारण युरोपमा आफ्नो उपस्थिति विस्तार गरिरहेको हो। कम्पनीले यसअघि नै पेरिस र म्युनिखमा कार्यालय खोलेको थियो।
एन्थ्रोपिकले अन्तर्राष्ट्रिय बजारमा बढ्दो माग पूरा गर्न आफ्नो विदेशी कर्मचारी संख्या तीन गुणा बढाउने योजना बनाएको छ। कम्पनीसँग डब्लिन र ज्युरिखमा पनि कार्यालयहरू छन्, साथै लन्डनमा करिब २०० कर्मचारी कार्यरत छन्।
रोयटर्सका अनुसार एन्थ्रोपिकका अन्तर्राष्ट्रिय प्रमुख क्रिस सियाउरीले इटालीको नयाँ पत्रिका कोरिएरे डेला सेरामा प्रकाशित अन्तर्वार्तामा भने, “फ्रान्स र जर्मनीपछि इटाली हाम्रो लागि स्वाभाविक अर्को कदम हो।”
यो विस्तार यस्तो समयमा भइरहेको छ जब युरोपका कम्पनीहरूले उत्पादनशीलता बढाउन एआई प्रणाली प्रयोग गर्न तीव्र प्रतिस्पर्धा गरिरहेका छन् भने नीति निर्माता तहमा तीव्र गतिमा विकसित भइरहेको यो प्रविधिलाई कसरी नियमन गर्ने भन्ने बहस चलिरहेको छ।
एन्थ्रोपिककी सह–संस्थापक डानिएला अमोडेईले सरकारहरूले ढिलो नगरी समयमै कदम चाल्नुपर्ने बताएकी छन्, नत्र सामाजिक सञ्जाल प्लेटफर्महरूमा जस्तै सुरक्षा व्यवस्था पछि परेर समस्या दोहोरिन सक्ने उनको भनाइ छ।
कम्पनीले यसअघि अमेरिकी सरकारसँग पनि केही विषयमा असहमति जनाएको थियो। विशेषगरी सैन्य प्रयोग, जस्तै हतियारलाई स्वतः लक्ष्य पहिचान गर्ने प्रणाली वा आन्तरिक निगरानीका लागि आफ्ना एआई मोडेल प्रयोग गर्न नदिनुपर्ने कडा नियमहरूको पक्षमा एन्थ्रोपिक ले अडान लिएको छ।
प्रकाशित: ८ जेष्ठ २०८३, शुक्रबार