अमेरिकी सरकारले क्वान्टम कम्प्युटिङ कम्पनीहरूलाई २ अर्ब डलर अनुदान दिने, शेयर पनि लिने

  • Technology Khabar | ९ जेष्ठ २०८३, शनिबार
अमेरिकी सरकारले क्वान्टम कम्प्युटिङ कम्पनीहरूलाई २ अर्ब डलर अनुदान दिने, शेयर पनि लिने
तस्बिर: लाइभसाइन्स

काठमाडौं ।

अमेरिकी सरकारले क्वान्टम कम्प्युटिङ कम्पनीहरूलाई २ अर्ब डलर अनुदान दिने तथा ती कम्पनीहरूमा स्वामित्व हिस्सा लिने तयारी गरेको द वाल स्ट्रीट जर्नलले बिहीबार जनाएको छ।

प्रतिवेदनअनुसार अमेरिकी वाणिज्य विभागले नौ वटा क्वान्टम कम्प्युटिङ कम्पनीसँग सम्झौता गरेको छ। त्यसअन्तर्गत आईबीएमलाई १ अर्ब डलर तथा ग्लोबलफाउण्ड्रिजलाई ३७ करोड ५० लाख डलर उपलब्ध गराइनेछ।

अन्य कम्पनीहरूमा डी-वेभ क्वान्टम, रिजेटी कम्प्युटिङ र इन्फ्लेक्शन समावेश छन्, जसले प्रत्येकले १० करोड डलरसम्म पाउने अपेक्षा गरिएको छ। स्टार्टअप डिराकले भने ३ करोड ८० लाख डलर पाउन सक्ने बताइएको छ।

यो लगानीले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको घरेलु आपूर्ति शृंखलाका लागि महत्वपूर्ण मानिएका कम्पनीहरूमा स्वामित्व हिस्सा लिने रणनीतिलाई थप विस्तार गर्नेछ। यसलाई विशेषगरी चिप निर्माणजस्ता क्षेत्रमा चीनको प्रभावलाई चुनौती दिने प्रयासका रूपमा पनि हेरिएको छ।

यसअघि पनि अमेरिकी सरकारले इन्टेल तथा दुर्लभ खनिज उत्खनन कम्पनी एमपी मटेरियल्समा ठूलो हिस्सा लिइसकेको छ।

क्वान्टम कम्प्युटरहरूले क्वान्टम मेकानिक्सका सिद्धान्त प्रयोग गरेर जटिल गणितीय समस्या परम्परागत सुपरकम्प्युटरभन्दा धेरै छिटो समाधान गर्न सक्छन्।

तर हाल उपलब्ध क्वान्टम कम्प्युटरहरूले त्रुटि सुधारमै धेरै कम्प्युटिङ शक्ति खर्च गर्ने भएकाले व्यवहारमा तिनीहरू अझै परम्परागत कम्प्युटरभन्दा छिटो बन्न सकेका छैनन्।

अमेरिकी वाणिज्य विभाग, आइबीएम, ग्लोबलफाउण्ड्रिज, रिजेटी कम्प्युटिङ, डी-वेभ क्वान्टम र इन्पफ्लेक्शनले टिप्पणी अनुरोधमा तत्काल प्रतिक्रिया नदिएका रोयटर्सले उल्लेख गरेको छ। सम्झौतामा समावेश कम्पनीहरूको शेयर मूल्य प्रि–मार्केट कारोबारमा ७ प्रतिशतदेखि २१ प्रतिशतसम्म बढेको थियो।

 

प्रकाशित: ९ जेष्ठ २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...