
काठमाडौं ।
भारतको एक अदालतले एप्पललाई आइफोन एप बजारसँग सम्बन्धित एन्टिट्रस्ट मुद्दामा अनुसन्धानकर्तासँग “पूर्ण रूपमा सहयोग” गर्न दिएको छ।
दिल्ली उच्च अदालतले शनिबार आफ्नो वेबसाइटमा सार्वजनिक गरेको आदेशमा कम्पनीले अनुसन्धानमा पूर्ण सहयोग गर्नुपर्ने उल्लेख गरेको हो। तर अदालतले भारतको प्रतिस्पर्धा आयोगलाई जुलाई १५ सम्म यस विषयमा अन्तिम आदेश जारी नगर्न पनि भनेको छ।
एप्पलले एन्टिट्रस्ट जरिवानासम्बन्धी कानुनलाई चुनौती दिँदै मुद्दा रोक्न माग गरेको थियो। कम्पनीले जरिवाना गणनाका लागि आवश्यक पर्ने आफ्नो वित्तीय विवरण माग गरेर प्रतिस्पर्धा आयोगले आफ्नो अधिकार क्षेत्र नाघेको आरोप पनि लगाएको थियो।
रोयटर्सका अनुसार यसअघि सन् २०२४ मा गरिएको अनुसन्धानले एप्पलले आफ्नो प्रभुत्वशाली स्थिति दुरुपयोग गरेको निष्कर्ष निकालेपछि आयोगले कम्पनीसँग वित्तीय जानकारी माग गर्दै आएको थियो।
तर कम्पनीले कुनै गलत काम नगरेको दावी गर्दै भारतको सम्पूर्ण एन्टिट्रस्ट जरिवाना गणना कानुनलाई नै चुनौती दिएको र त्यसको निर्णय नआएसम्म आयोगले पर्खिनुपर्ने तर्क गरेको छ।
भारतमा चलिरहेको यो मुद्दा विश्वभर एप्पल विरुद्ध लागेका विभिन्न एन्टिट्रस्ट आरोपमध्ये एक हो। अनुसन्धान संस्था काउन्टरपोइन्ट रिसर्च का अनुसार भारत एप्पलका लागि महत्वपूर्ण बजार बन्दै गएको छ, जहाँ आइफोनको बजार हिस्सा दुई वर्षअघिको ४ प्रतिशतबाट बढेर ९ प्रतिशत पुगेको छ।
प्रकाशित: ५ जेष्ठ २०८३, मंगलवार