
काठमाडौं ।
चालु आर्थिक वर्षको नवौं महिना चैतमा नेपालमा कार्डमार्फत भुक्तानी हुने ई-कमर्सको कारोबार रकम र सङ्ख्या दुवै उल्लेख्य बढेको छ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८२ चैत मसान्तसम्मको बृहत् आर्थिक विवरण अनुसार ई-कमर्समार्फत हुने कारोबारको रकम ३५ करोड बढीले तथा सङ्ख्या ५० हजारभन्दा माथिले बढेको पाइएको हो।
विवरण अनुसार चैत महिनाभरीमा ई-कमर्समार्फत १ अर्ब ४१ करोड रुपैयाँ कारोबार भएको देखिएको छ। यो रकम अघिल्लो महिना अर्थात् फागुन मसान्तसम्म १ अर्ब ६ करोड १० लाख रुपैयाँ रहेको थियो।
यसरी हेर्दा फागुनदेखि चैत मसान्तसम्म आउँदा ईकमर्स मार्फत हुने कारोबार ३४ करोड ९० लाख रुपैयाँले बढेको देखिन्छ।
कारोबार सङ्ख्याका हिसाबले हेर्दा चैत मसान्तसम्म ईकमर्स मार्फत २ लाख ४८ हजार ६३१ पटक कारोबार भएको पाइएको छ। अघिल्लो महिना अर्थात् पुस मसान्तसम्म भने १ लाख ९८ हजार ८८ पटक कारोबार भएको थियो।
तुलनात्मक रुपमा हेर्दा फागुन मसान्तदेखि चैत मसान्तसम्म ईकमर्समार्फत हुने कारोबार सङ्ख्यामा ५० हजार ५४३ ले बढेको विवरणबाट प्रस्ट हुन्छ।
प्रकाशित: ५ जेष्ठ २०८३, मंगलवार