टेक्ससमा भिडियो स्ट्रिमिङ सेवा नेटफ्लिक्सविरुद्ध मुद्दा दायर

  • Technology Khabar | ४ जेष्ठ २०८३, सोमबार
टेक्ससमा भिडियो स्ट्रिमिङ सेवा नेटफ्लिक्सविरुद्ध मुद्दा दायर

काठमाडौं ।

टेक्ससमा भिडियो स्ट्रिमिङ सेवा नेटफ्लिक्सविरुद्ध मुद्दा दायर गरिएको छ।

मुद्दामा कम्पनीले बालबालिका र वयस्क प्रयोगकर्ताबाट उनीहरूको सहमतिबिना डाटा संकलन गरेको तथा प्रयोगकर्तालाई प्लेटफर्ममा बाँधेर राख्न ‘लत लाग्ने’ डिजाइन प्रयोग गरेको दावी गरिएको छ।

टेक्सासका महान्यायाधिवक्ता केन प्याक्सटनले नेटफ्लिक्समाथि नागरिकमाथि “जासुसी” गरेको आरोप लगाएका छन्। उनका अनुसार कम्पनीले प्लेटफर्ममा प्रयोगकर्ताको व्यवहारबारे “अर्बौं” जानकारी रेकर्ड गरेर त्यसबाट आम्दानी गरिरहेको छ, जबकि कम्पनीले सार्वजनिक रूपमा त्यसको विपरीत दावी गर्दै आएको छ।

महान्यायाधिवक्ताको कार्यालयले भनेको छ, “प्लेटफर्ममा हुने हरेक अन्तरक्रियाले प्रयोगकर्ताबारे जानकारी दिने एउटा डाटा बिन्दुको रूपमा काम गरेको छ।”

नेटफ्लिक्सले यी आरोप अस्वीकार गरेको छ र अदालतमा चुनौती दिने जनाएको छ। कम्पनीका प्रवक्ताले बीबीसीसँग भने, “टेक्सास राज्य र महान्यायाधिवक्ता प्याक्सटनप्रति सम्मान राख्दै हामी भन्न चाहन्छौं कि यो मुद्दा आधारहीन छ। यो गलत र विकृत जानकारीमा आधारित छ।”

उनले थपे, “नेटफ्लिक्स आफ्ना सदस्यहरूको गोपनीयतालाई गम्भीर रूपमा लिन्छ र जहाँ जहाँ हामी सञ्चालनमा छौं, त्यहाँका गोपनीयता तथा डाटा सुरक्षा कानुनको पालना गर्छ।” सोमबार दायर गरिएको उजुरीमा भनिएको छ, “जब तपाईं नेटफ्लिक्स हेर्नुहुन्छ, नेटफ्लिक्सले पनि तपाईंलाई हेर्छ।”

बीबीसीहिनदीका अनुसार याचिकामा कम्पनीले डाटा प्रशोधन गर्ने र प्रयोगकर्तालाई विज्ञापन देखाउने तरिकाबारे आफूलाई अन्य ठूला प्रविधि कम्पनीभन्दा फरक देखाएको उल्लेख गरिएको छ।

त्यसमा कम्पनीका पूर्व प्रमुख रीड ह्यास्टिङ्सले २०१९ र २०२० मा दिएका अभिव्यक्तिहरू उद्धृत गरिएको छ, जसमा उनले कम्पनीले प्रयोगकर्ताको डाटा संकलन नगर्ने वा त्यसबाट आम्दानी नगर्ने बताएका थिए।

तर याचिकामा कम्पनीले प्रयोगकर्तालाई साइटमा टिकाइराख्न “लत लाग्ने” डिजाइन प्रयोग गरेको आरोप लगाइएको छ। यसमा स्वतः चल्ने सामग्री तथा प्रयोगकर्ताको गतिविधिको व्यापक रेकर्डिङ गरिएको उल्लेख छ। उजुरीअनुसार कम्पनीले प्रयोगकर्ताले कुन सामग्रीमा क्लिक गरे, कहाँ रोकिने गरे र कति समयसम्म हेरे भन्ने लगायत अर्बौं प्राविधिक गतिविधि रेकर्ड गरेको थियो।

त्यस्तै २०२२ मा कम्पनीले “स्क्रिनमा अड्काइएका बालबालिका र परिवारबाट गोप्य रूपमा निकालिएको विशाल डाटा” को उपयोग गर्न थालेको र त्यसलाई व्यावसायिक डाटा ब्रोकरहरूसँग साझेदारी गरी अर्बौं डलर आम्दानी गरेको आरोप लगाइएको छ।

मुद्दामा भनिएको छ, “नेटफ्लिक्सले आफ्ना कार्यक्रमको सदस्यतालाई बिग टेकको निगरानीबाट बच्ने माध्यमका रूपमा बेच्यो। कम्पनीले भन्यो — मासिक शुल्क तिर्नुहोस्, ट्र्याकिङबाट बच्नुहोस्।”

“टेक्सासका नागरिकले यस सम्झौतामा विश्वास गरे। तर नेटफ्लिक्सले त्यो विश्वास तोड्यो। उसले त्यही डाटा संकलन प्रणाली निर्माण गर्‍यो, जसबाट बच्न ग्राहकहरूले शुल्क तिर्थे,” उजुरीमा भनिएको छ।

महान्यायाधिवक्ता प्याक्सटनको कार्यालयले कम्पनीले राज्यको कानुन उल्लंघन गरेको विश्वास गरेको जनाएको छ। विशेष रूपमा टेक्सस डिसेप्टिभ ट्रेड प्राक्टिसेज एक्ट उल्लंघन भएको दाबी गरिएको छ, जसले व्यापार तथा वाणिज्यका क्रममा “झुटा, भ्रामक वा भ्रम सिर्जना गर्ने कार्य र अभ्यास” लाई रोक लगाउँछ।

मुद्दामा अदालतसँग नेटफ्लिक्सले “भ्रामक तरिकाले टेक्सासका नागरिकबाट संकलन गरेको” डाटा मेटाउन आदेश दिन माग गरिएको छ। साथै लक्षित विज्ञापनका लागि डाटा प्रशोधन रोक्न र बालबालिकाको प्रोफाइलमा स्वतः चल्ने सुविधा पूर्वनिर्धारित रूपमा बन्द गर्न पनि माग गरिएको छ।

यो घटनाक्रम त्यस्तो समयमा आएको हो, जब प्लेटफर्ममा स्वतः चल्ने भिडियो र अन्त्यहीन स्क्रोल जस्ता सुविधामाथि प्रतिबन्ध लगाउनुपर्ने माग बढिरहेको छ।

यस्ता सुविधाले प्रयोगकर्तालाई निरन्तर सामग्रीको अन्त्यहीन प्रवाहमा बाँधेर राख्ने काम गरिरहेको भने चिन्ताको कुरा हो। विशेषज्ञहरूका अनुसार हालै क्यालिफोर्नियामा दायर गरिएको अर्को मुद्दा सफल भए यस्तै प्रकारका थप उजुरीको बाटो खुल्न सक्छ। उक्त मुद्दामा मेटा र यूट्युबलाई आफ्ना प्लेटफर्मको लत लाग्ने डिजाइनका लागि जिम्मेवार ठहर गर्न सकिने तर्क गरिएको थियो।

प्रकाशित: ४ जेष्ठ २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...