काठमाडौं ।
सिस्कोले तेस्रो त्रैमासिकमा दोहोरो अंकको वृद्धि देखाए पनि करिब ४ हजार कर्मचारी कटौती गर्ने भएको छ। यो कुल कार्यबलको करिब ५ प्रतिशत हो। कम्पनीले अब एआईतर्फ बढी केन्द्रित हुने संकेत दिएको छ।
सिस्कोका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत चक रोबिन्सले ब्लग पोस्टमार्फत आन्तरिक रूपमा पठाइएको इमेल सार्वजनिक गर्दै कम्पनीको आर्थिक वर्ष २०२६ को तेस्रो त्रैमासिक आम्दानी १५.८ अर्ब डलर पुगेको बताएका छन्। यो वार्षिक रूपमा १२ प्रतिशतले बढी हो। उनले कम्पनीको माथिल्लो र तल्लो दुवै आम्दानीमा दोहोरो अंकको वृद्धि भएको बताएका छन्।
“तपाईंहरूले सिस्कोका लागि ल्याएको वृद्धिप्रति म र ईएलटी अत्यन्त गर्व गर्छौं,” उनले भने।
त्यसपछि उनले “आफूहरुले सञ्चालन गरिरहेको जटिल वातावरण — तीव्र रूपमा बदलिँदो बजार, बढ्दो प्रतिस्पर्धा, र आफ्नो उत्पादन तथा ग्राहकहरूको एआई विस्तारलाई सहयोग गर्न आवश्यक कम्पोनेन्टहरूको विश्वव्यापी अभाव” को चर्चा गरे।
“एआई युगमा सफल हुने कम्पनीहरू ती हुनेछन् जसले स्पष्ट लक्ष्य, तीव्रता र लगानीलाई माग तथा दीर्घकालीन मूल्य सिर्जना हुने क्षेत्रमा निरन्तर स्थानान्तरण गर्ने अनुशासन राख्छन्। म विश्वस्त छु सिस्को पनि त्यस्ता विजेतामध्ये एक हुनेछ,” उनले भने।
“यसको अर्थ हामी कहाँ लगानी गर्छौं, कसरी संगठित हुन्छौं, र हाम्रो लागत संरचनाले अगाडिको अवसरलाई कसरी प्रतिबिम्बित गर्छ भन्ने विषयमा कठिन निर्णय लिनु हो।”
टेलिकम्स डटकमका अनुसार यी कठिन निर्णयहरू सिस्कोले चौथो त्रैमासिकमा करिब ४ हजार रोजगारी कटौती गर्ने योजनाका रूपमा देखिएको छ। यद्यपि कम्पनीले प्रभावित कर्मचारीलाई एक वर्षसम्म सिस्को यू पाठ्यक्रम तथा प्रमाणपत्रमा पहुँच दिने जनाएको छ।
“हामी केही क्षेत्रमा पद कटौती गर्दैछौं, तर सिलिकन, अप्टिक्स, सुरक्षा तथा कम्पनीभित्र कर्मचारीहरूको एआई प्रयोगमा स्पष्ट र रणनीतिक लगानी गरिरहेका छौं,” रोबिन्सले थपे। “यी लगानीहरू बलियो अवस्थाबाट निर्माण भइरहेका छन् र त्यस्ता प्रविधि तथा व्यवसायमा केन्द्रित छन् जसले हाम्रो वृद्धिलाई तीव्र बनाउने, ग्राहक र साझेदारलाई उत्कृष्ट नवप्रवर्तन दिने तथा हाम्रो भविष्य निर्धारण गर्नेछ।”
उक्त त्रैमासिकमा उत्पादन अर्डर वार्षिक रूपमा ३५ प्रतिशतले बढेको थियो। हाइपरस्केलर बाहेक हेर्दा यो वृद्धि १९ प्रतिशत थियो। नेटवर्किङ उत्पादन अर्डरको वृद्धि ५० प्रतिशतभन्दा माथि पुगेको सिस्कोले जनाएको छ।
कम्पनीले हाइपरस्केलरबाट एआई पूर्वाधारसम्बन्धी मागमा उल्लेखनीय वृद्धि भएको बताएको छ। चालु आर्थिक वर्षमा हालसम्म ५.३ अर्ब डलर बराबरको अर्डर प्राप्त भएको र आर्थिक वर्ष २०२६ का लागि अनुमानित अर्डर ५ अर्ब डलरबाट बढाएर ९ अर्ब डलर पुर्याइएको कम्पनीले जनाएको छ।
प्रकाशित: ४ जेष्ठ २०८३, सोमबार