
काठमाडौं ।
होण्डाले झण्डै ७० वर्षको इतिहासमा पहिलो पटक वार्षिक नोक्सानी सार्वजनिक गरेको छ। जापानी अटोमोबाइल कम्पनीले आईपीओपछि पहिलो पटक यस्तो परिणाम देखाएको हो, जुन कम्पनीको सार्वजनिक सूचीकरण इतिहासमा दुर्लभ घटना मानिएको छ।
आर्थिक विवरणअनुसार कम्पनीले मार्चमा समाप्त भएको आर्थिक वर्षमा करिब ४१४.३ अर्ब येन (झण्डै २.६ अर्ब अमेरिकी डलर) सञ्चालन नोक्सानी व्यहोरेको छ। यो अघिल्लो वर्षको १.२ ट्रिलियन येन नाफासँग तुलना गर्दा ठूलो गिरावट हो।
यो नोक्सानी मुख्यतः विद्युतीय सवारीसाधन (ईभी) क्षेत्रमा गरिएको ठूलो पुनर्संरचना खर्चसँग सम्बन्धित रहेको छ, जसमा असफल लगानी र ९ अर्ब डलरभन्दा बढीको मूल्यह्रास समावेश छ।
टेलिग्राफका अनुसार कम्पनीले अमेरिका बजारमा लागेका कर (ट्यारिफ) र चीनजस्ता प्रमुख बजारमा घट्दो बिक्रीको दबाब पनि सामना गर्नुपरेको छ। यद्यपि ऐतिहासिक नोक्सानी भए पनि हन्डाले आगामी आर्थिक वर्षमा पुनः नाफामा फर्किने अपेक्षा गरेको छ। यसको आधार लागत कटौती र मोटरसाइकल व्यवसायको बलियो प्रदर्शन रहेको छ, जुन कम्पनीका लागि स्थिर आम्दानी स्रोत बनेको छ।
कम्पनीले आफ्नो रणनीतिमा पनि परिवर्तन गर्दै विश्वव्यापी रूपमा विद्युतीय सवारीको माग सुस्त भएपछि हाइब्रिड र परम्परागत मोडेलमा बढी ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ।
प्रकाशित: ३ जेष्ठ २०८३, आईतवार