एभरेष्ट इन्जिनियरिङ कलेजमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न

  • Technology Khabar | २७ बैशाख २०८३, आईतवार
एभरेष्ट इन्जिनियरिङ कलेजमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न

काठमाडौं ।

ललितपुर सानेपाको एभरेष्ट इन्जिनियरिङ कलेजमा स्थापित आन्तरिक अनुसन्धान अनुदान कोषबाट गत आर्थिक वर्षमा सहयोग प्राप्त तीनवटा अनुसन्धान कार्यक्रमहरूको परिणामको प्रस्तुति आज सम्पन्न भयो।

कार्यक्रममा भिरालो जमिनमा पहिरो फैलावतको अनुमान गर्ने नयाँ गणितीय विधिको विकास गरेका कलेजका शिक्षक इन्जिनियर नारायण सापकोटाको प्रस्तुति उच्च कोटीको रहेको कार्यक्रममा उपस्थित विज्ञहरूले बताए।

भौतिक शास्त्र र न्यूरल नेटवर्कको सम्मिश्रण गरी विकास गरिएको उक्त पहिरो अनुमान विधि पिआइएनएन संसारकै नौलो रहेको इन्जिनियर सापकोटाले दावी गरे।

भूकम्प विपद्को समयमा घाइतेहरूको तत्काल उपचार गर्न जनसंख्याको आधारमा अस्पतालको संख्या र क्षमता, एम्बुलेन्स गाडीहरूको संख्या र स्थान, र डाक्टरहरूको संख्याले कसरी प्रभाव पार्दछ र प्रभावकारी सेवा दिन कति संख्या उपयुक्त हो भन्ने विषयमा अनुसन्धानकर्ता न्युटन शाहि ठकुरीले प्रस्तुति गरे।

उनले कम्प्युटर आधारित विभिन्न गणितीय विधिहरू प्रयोग गरी घाइते बिरामी र डाक्टरले दिने सेवाको अवधि न्यूनीकरण गर्न सकिने दावी गरे।

त्यसैगरी बागमतीको कुन कुन शाखा नदीहरूबाट बग्ने पानीमा रसायनिक र जैविक प्रदूषणको मात्रा कतिको रहेको छ र उक्त मात्रा कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा अनुसन्धानकर्ता आयुश कोइराला र शुभम बिकेले संयुक्त प्रस्तुति दिए।

कार्यक्रममा कलेजका प्रमुख कार्यकारी अधिकारी अरूण कुमार भण्डारी, अनुसन्धान कमिटि प्रमुख तथा प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ तथा सहप्राध्यापक डा. यज्ञराज पाण्डेले सबै प्रस्तुतकर्ताहरूसँग अनुसन्धान परिणामको व्यावहारीक पक्षलाई थप सबल बनाउनु पर्नेमा जोड दिए।

प्रकाशित: २७ बैशाख २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार