
काठमाडौं ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकमाथि कारबाही गरी रु २६ करोड १९ लाख ३१ हजार १७७ राजस्व सङ्कलन गरेको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले उपत्यकाभित्र ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले नियमित चेकजाँच, सचेतनामूलक अभियान, ट्राफिक नियम पालनामा कडाइ गरिनाका साथै नियम उल्लङ्घन गर्नेलाई कारबाही गरिएको जानकारी दिए। उनका अनुसार चैत मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने तीन लाख ७३ हजार ५६२ चालकलाई कारबाही गरिएको छ।
प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले एउटै कसुरमा पटकपटक संलग्न हुने चालकमाथि थप कडाइ गरिएको बताउँदै पाँच पटकभन्दा बढी कारबाहीमा परेका चालकको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभागमा पत्र पठाइएको जानकारी दिए।
हालसम्म ३१ जना चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि सिफारिस गरिएको उनले बताए।
नियम नमान्ने कारबाहीमा
प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष ट्राफिक चेकिङ अभियानका क्रममा तीन लाख ७३ हजार ५६२ चालकलाई कारबाही गरिएको छ।
मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने २३ हजार ४८, रातोबत्तीको नियम उल्लङ्घन गर्ने २८ हजार ३०८, तीव्र गतिमा सवारी चलाउने २३ हजार ७७२, लेनक्रस गर्ने २३ हजार ९८४, सवारीको स्वरुप परिवर्तन गर्ने एक हजार ४५०, भाडा बढी असुल्ने ८९०, लागु पदार्थ सेवन (लापसे) १२४, यान्त्रिक अवस्था ठिक नभएका सवारी दुई हजार ८३१, मोड्न निषेध उल्लङ्घन गर्ने ३७ हजार ४७२, हर्न निषेधमा छ हजार २५७, डबल चालक ३५०, सवारीचालक अनुमतिपत्रबिना सवारी चलाउने १० हजार ४८९ चालकलाई कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए। उनका अनुसार अन्य कारबाहीमा दुई लाख, १४ हजार ५८७ परेका छन्।
सचेतना र निगरानीलाई प्राथमिकता
ट्राफिक प्रहरीले पछिल्लो समय उपत्यकामा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन डिजिटल निगरानी, सिसिटिभीमार्फत अनुगमन तथा विशेष चेकिङ अभियानलाई तीव्र बनाएको ट्राफिक प्रहरी प्रमुख अधिकारीले बताए।
उनले भने, “सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी पछिल्लो समय सक्रिय बनेको छ र नियमित अनुगमन र चेकजाँच गरिरहेको छ। यसका लागि चालक तथा यात्रु दुवैको सचेतना पनि आवश्यक छ।”
प्रहरीले मादक पदार्थ वा लागुपदार्थ सेवन गरी सवारी चलाउनु कानुन विपरीत तथा दण्डनीय कार्य भएकाले यस्ता गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी दिन आग्रह गरेको छ।
ट्राफिक प्रहरीले नियम पालना, सुरक्षित यात्रा र अनुशासित सवारी सञ्चालनमार्फत मात्रै दुर्घटना न्यूनीकरण गर्न सकिने भन्दै सबै चालक तथा सर्वसाधारणलाई जिम्मेवार बन्न आग्रह गरेको छ।-रासस
प्रकाशित: २७ बैशाख २०८३, आईतवार