अब ललितपुर महानगरले विद्युतीय गाडी प्रयोग गरेर फोहोर उठाउने: एमएडब्लूले दियो ११ थान फोटोन टीएम१

  • Technology Khabar | ३ बैशाख २०८३, बिहीबार
अब ललितपुर महानगरले विद्युतीय गाडी प्रयोग गरेर फोहोर उठाउने: एमएडब्लूले दियो ११ थान फोटोन टीएम१
साँचो हस्तान्तरण

काठमाडौं ।

नेपालमा फोटोन मोटरको आधिकारिक वितरक एमएडब्लू वृद्धिले  कस्टमाइज गरिएका फोटोन टीएम१ इलेक्ट्रिक वेस्ट कलेक्सन भेहिकलका ११ युनिटहरू ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरेको छ।

कम्पनीको दावी अनुसार नेपालमा शहरी फोहोर व्यवस्थापनका लागि विद्युतीय गाडी प्रयोग गरिएको पहिलो यो पटक हो। यसले व्यावसायिक ईभीहरूले सडक र ढुवानी बाहेकअन्य क्षेत्रमा पनि योगदान दिन सक्छन् भनेर नयाँ बाटो खोलिदिएको छ।

ललितपुर महानगरपालिकाका लागि उपलब्ध गराइएका टीएम१ गाडीहरू बजारमा सजिलै पाइने सामान्य गाडीहरू होइनन्। यी प्रत्येक गाडी शहरमा फोहोर संकलन गर्ने प्रयोजनका लागि विशेष रूपमा तयार गरिएका छन्।

फोटोन टीएम१
फोटोन टीएम१

कम्पनीका अनुसार फोटोन टीएम१ को प्रभाव दैनिक कार्य सञ्चालनमै देखिन थालेको छ। ललितपुर महानगरपालिकाले फोहोर संकलन टोलीलाई थप प्रभावकारी बनाउँदै तीनजनाबाट दुईजनाको दक्ष टोलीमा घटाउन सफल भएको छ, जुन यस गाडीको सहज र उपयोगी डिजाइनको प्रत्यक्ष नतिजा हो। साथै, यसले लैङ्गिक समावेशी रोजगारीलाई प्रोत्साहन गर्दै फोहोर व्यवस्थापनको क्षेत्रमा महिलाहरूका लागि अर्थपूर्ण अवसरहरू सिर्जना गरेको छ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भने, “हाम्रो सहर एउटा सरल नियममा चल्छ, यहाँ प्रदुषण एकदम निषेध छ। यस कारण हामी फोहोर सङ्कलनका लागि पेट्रोल, डिजेल प्रयोग नहुने विद्युतीय गाडी खोजिरहेका थियौँ। यस्तो ईभी पाउन सकिएला त? हाम्रो सबैभन्दा ठूलो चिन्ताको विषय यहि थियो। र, फोटोनले हाम्रो त्यो चिन्ताको बलियो समाधान दिएको छ। साँच्चै भन्नुपर्दा, हामी अत्यन्तै खुसी छौँ।”

एमएडब्लू वृद्धी कमर्शियल भेहिकल प्रा. लि.का सी.ई.ओ अनिल बरालले भने, “पहिलोपटक ईभीमा आधारित फोहोर व्यवस्थापनको अवधारणा सुन्दा हामी प्रभावित भएका थियौँ। र, आज यहि कुरा व्यवहारमा देख्न पाउँदा अत्यन्त खुशी लागेको छ। नेपालकै सबैभन्दा सफा सहरको रूपमा पहिचान बनाएको ललितपुर महानगरपालिकालाई सहयोग गर्न पाउँदा हामी गौरवान्वित छौँ, र हामीलाई विश्वास गर्नु भएकोमा वहाँहरूलाई हार्दिक आभार व्यक्त गर्दछौँ। फोटोनका लागि यो केवल सुरुवात मात्र हो। उन्नत विद्युतीय सवारीसाधन र देशभर विस्तार हुँदै गएको ईभी चार्जिङ पूर्वाधारहरू मार्फत् स्वच्छ र प्रदुषणमुक्त नेपाल निर्माणमा योगदान गर्न हामी सधैं प्रतिबद्ध छौँ।”

प्रकाशित: ३ बैशाख २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार