
काठमाडौं ।
लन्डनमा पहिलो रोबोट्याक्सी सेवा सुरु हुने तयारीसँगै वेमोले सार्वजनिक सडकमा आफ्नो स्वचालित सवारी परीक्षण सुरु गरेको छ।
टेकक्रञ्चका अनुसार अल्फाबेट अन्तर्गतको कम्पनी वेमोले यस वर्ष लन्डनमा व्यावसायिक रोबोट्याक्सी सेवा सुरु गर्ने तयारी गर्दै आएको छ। गत अक्टोबरमै कम्पनीले लन्डनका सार्वजनिक सडकमा गाडी चलाउने योजना घोषणा गरेको थियो।
सुरुमा वेमोका कर्मचारीहरूले सहरको नक्सा बनाउन गाडी आफैं चलाएका थिए, त्यसपछि मात्र स्वचालित परीक्षण सुरु गरिएको हो। हाल करिब १०० वटा सबै-विद्युतीय ज्यागुअर आई-पेस गाडीहरू वेमोको सेल्फ-ड्राइभिङ प्रणालीसहित सडकमा छन्, जसमा सुरक्षाका लागि चालक सिटमा मानव अपरेटर राखिएको छ। कम्पनीका अनुसार यी गाडीहरू करिब १०० वर्ग माइल क्षेत्रभित्र परीक्षण भइरहेका छन्।
पूर्ण रूपमा स्वचालित सञ्चालन सुरु गर्नुअघि सरकारको परीक्षणसम्बन्धी नियमहरू अन्तिम हुन आवश्यक रहेको कम्पनीले जनाएको छ। कम्पनीले नियामक निकायहरूसँग मिलेर सकेसम्म धेरै लन्डनबासीसम्म सेवा पुर्याउने बताएको छ।
वेमोका सहायक-प्रमुख दिमित्री डोलगोभले लिङ्क्डइनमा लेख्दै ड्राइभिङ एआईले राम्रोसँग काम गरिरहेको बताएका छन्। उनले स्थानीय अवस्थालाई बुझ्दै र बेलायतका सडकमा प्रदर्शन प्रमाणित गर्दै मानव विशेषज्ञसहित परीक्षण भइरहेको जनाएका छन्।
वेमो ले अर्को पोस्टमा बेलायतमा स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने र लन्डनभर विभिन्न एभी सेवा केन्द्र स्थापना गर्ने बताएको छ। साथै युरोपमा व्यवसाय विस्तारका लागि आपतकालीन सेवासँग पनि सहकार्य भइरहेको जनाएको छ।
सामान्यतया वेमोले आफ्नो रणनीतिअनुसार सुरुमा चालकसहित परीक्षण गर्ने, त्यसपछि चालकबिनाको परीक्षण गर्ने र अन्ततः आफ्नै कर्मचारीलाई प्रयोग गर्न दिने र पछि सर्वसाधारणका लागि सेवा खोल्ने गर्छ। २०२६ मा सेवा सुरु गर्ने योजना भने बेलायत सरकारले अनुमति प्रक्रिया पूरा गर्ने कुरामा निर्भर रहनेछ।
वेमो र बेलायतको सम्बन्ध यो पहिलो भने होइन। सन् २०१९ मा कम्पनीले युनिभर्सिटी अफ अक्सफोर्डबाट सुरु भएको इमिटेशन लर्निङ प्रयोग गरेर सेल्फ-ड्राइभिङ सिमुलेसनलाई यथार्थपरक बनाउने लेटेन्ट लजिक नामक स्टार्टअप खरिद गरेको थियो। यससँगै कम्पनीले अक्सफोर्डमा इन्जिनियरिङ केन्द्र पनि स्थापना गरेको थियो।
वेमोसँग हाल ३ हजारभन्दा बढी रोबोट्याक्सी रहेको बताइएको छ जसमा जीकरद्वारा बनाइएको नयाँ मिनिभ्यानजस्तै सवारी थपिएको हुनसक्ने उल्लेख गरिएको छ। यी रोबोट्याक्सीहरू एटलाण्टा, अस्टिन, लस एञ्जलस, फिनिक्स र सान फ्रान्सिस्को बे एरियालगायत ११ सहरमा सञ्चालनमा छन्। कम्पनी अन्य बजारमा पनि परीक्षण गर्दै सेवा सुरु गर्ने तयारीमा छ।
लन्डन वेमोको पहिलो अन्तर्राष्ट्रिय बजार बन्न सक्छ (कम्पनीले टोक्यो मा पनि परीक्षण गरिरहेको छ)। तर यहाँ प्रतिस्पर्धा पनि रहनेछ। बेलायतको स्टार्टअप वेभ र उबरले पनि लन्डनमा पूर्ण चालकबिनाको रोबोट्याक्सी सेवा सुरु गर्ने योजना बनाएका छन्। साथै वेभ, उबर र निसानले टोकियोमा २०२६ अन्त्यसम्म पाइलट कार्यक्रम सुरु गर्ने सम्झौता गरेका छन्।
प्रकाशित: २ बैशाख २०८३, बुधबार