“विन्डोजको गुणस्तरप्रति प्रतिबद्धता” भन्दै माइक्रोसफ्टले आफ्नो बीटा कार्यक्रम पुनः संरचना गर्यो

  • Technology Khabar | ३० चैत्र २०८२, सोमबार
“विन्डोजको गुणस्तरप्रति प्रतिबद्धता” भन्दै  माइक्रोसफ्टले आफ्नो बीटा कार्यक्रम पुनः संरचना गर्यो

काठमाडौं ।

माइक्रोसफ्टले “विन्डोजको गुणस्तरप्रति प्रतिबद्धता” भन्दै आफ्नो बीटा कार्यक्रम पुनः संरचना गर्ने भएको छ।

माइक्रोसफ्टले अहिलेको विन्डोजको अवस्थाबारे प्रयोगकर्ताहरूले गरेका गुनासाहरू आफूले सुनेको र त्यसलाई सुधार गर्न चाहेको बताएको छ। त्यसका लागि उसले आफ्नो विन्डोज इनसाइडर प्रोग्राममा फेरि परिवर्तन गर्ने भएको छ। यो सार्वजनिक बीटा प्रणाली हो, जसलाई माइक्रोसफ्टले विन्डोज १० देखि नयाँ अपरेटिङ सिस्टम संस्करण र एप अपडेट परीक्षण गर्न प्रयोग गर्दै आएको छ।

कम्पनीले यसबारे संकेत गत महिना “विन्डोज गुणस्तरप्रति प्रतिबद्धता” सम्बन्धी पोस्टमा दिएको थियो, र अहिले माइक्रोसफ्टका प्रिन्सिपल ग्रुप प्रोडक्ट म्यानेजर एलेक ऊटको नाममा अर्को पोस्टमार्फत विस्तृत जानकारी दिएको छ।

आर्सटेक्निकाका अनुसार २०२३ को पुनःसंरचनापछि विन्डोज इनसाइडर प्रोग्राममा चार वटा परीक्षण च्यानल थिए। कम स्थिरदेखि बढी स्थिरसम्म यी क्रमशः क्यानरी, डेभ, बीटा र रिलिज प्रिभ्यू च्यानल हुन्।

क्यानरी र डेभ प्रारम्भिक बिल्ड र नयाँ एपका लागि प्रयोग हुनेछन्, बीटा च्यानलमा प्रायः अन्तिम चरण नजिकका फिचरहरू आउने गर्छन्, र रिलिज प्रिभ्यू च्यानल सार्वजनिक रिलिजअघि अन्तिम परीक्षणको चरण हुन्छ।

नयाँ संरचनामा क्यानरी र डेभ च्यानललाई मिलाएर “एक्सपेरिमेन्टल” नामको एउटै च्यानल बनाइनेछ। माइक्रोसफ्टका अनुसार नयाँ फिचरहरू प्रायः यहीँ पहिलोपटक देखिनेछन् र प्रयोगकर्ताको प्रतिक्रिया सीधै विकासमा प्रभाव पार्नेछ। बीटा च्यानल भने लगभग पहिले जस्तै रहनेछ र स्थिर अनुभव चाहने प्रयोगकर्ताका लागि उपयुक्त हुने बताइएको छ।

एक्सपेरिमेन्टल र बीटा दुवै च्यानलमा प्रयोगकर्ताले आफूले परीक्षण गर्न चाहेको विन्डोजको आधार संस्करण छान्न सक्ने विकल्प हुनेछ। यसमा नयाँ आर्म-आधारित पीसीका लागि बनाइएको २६H१ संस्करण र अन्यका लागि सामान्य २५H२ संस्करण समावेश छन्। एक्सपेरिमेन्टल च्यानलमा थप “फ्युचर प्लेटफर्म्स” विकल्प पनि हुनेछ, जसले विन्डोजका सबैभन्दा प्रारम्भिक परीक्षण बिल्डहरू प्रयोग गर्न अनुमति दिनेछ, जुन भविष्यमा विन्डोज ११ को २६H२ वा अन्य संस्करण बन्न पनि सक्छ वा नबन्न पनि सक्छ।

रिलिज प्रिभ्यू च्यानल भने रहनेछ, तर यसलाई “एड्भान्स्ड” विकल्पका रूपमा लुकाएर राखिनेछ, जुन मुख्य रूपमा आईटी कम्पनीहरूले आगामी अपडेटको कम्प्याटिबिलिटी परीक्षणका लागि प्रयोग गर्नेछन्।

माइक्रोसफ्टले च्यानल परिवर्तन गर्न र इनसाइडर प्रोग्रामबाट बाहिरिन पनि सजिलो बनाइने जनाएको छ। अब प्रयोगकर्ताले पीसी फर्म्याट गरेर विन्डोज पुनःइन्स्टल नगरीकनै च्यानल परिवर्तन गर्न सक्नेछन्। एउटै मुख्य संस्करण (जस्तै २५एच२ वा २६एच१) भित्र रहेसम्म प्रयोगकर्ताले डाटा सुरक्षित राख्दै “इन-प्लेस अपग्रेड” मार्फत च्यानल बदल्न सक्नेछन्।

नयाँ संरचना अझै केही जटिल देखिए पनि यसले प्रयोगकर्तालाई के परीक्षण गरिरहेको हो भन्ने कुरा बढी स्पष्ट बनाउने अपेक्षा गरिएको छ। अहिलेको इनसाइडर प्रोग्राममा प्रायः नयाँ फिचरबारे पढेपछि बिल्ड इन्स्टल गर्दा पनि त्यो फिचर नदेखिने समस्या हुने गरेको छ।

यो समस्या माइक्रोसफ्टले “कन्ट्रोल्ड फिचर रोलआउट (सीएफआर)” प्रणालीका कारण हुने बताएको छ, जसमा नयाँ फिचरहरू बिस्तारै प्रयोगकर्तामा पठाइन्छन्। सामान्य प्रयोगकर्ताका लागि यो ठीक भए पनि इनसाइडर प्रयोगकर्ताका लागि भने निराशाजनक हुने गरेको छ।

अब बीटा च्यानलमा सीएफआर पूर्ण रूपमा हटाइनेछ। त्यसैले यदि कुनै फिचर इनसाइडर ब्लगमा उल्लेख गरिएको छ र प्रयोगकर्ताले त्यो बिल्ड इन्स्टल गर्छ भने, रिबुटपछि त्यो फिचर देखिनेछ।

एक्सपेरिमेन्टल च्यानलमा “फिचर फ्ल्याग्स पेज” थपिनेछ, जसले प्रयोगकर्तालाई व्यक्तिगत रूपमा फिचर अन वा अफ गर्न दिनेछ। यसअघि यस्तो काम भाइभटूल जस्ता तेस्रो पक्षको सफ्टवेयरमार्फत गर्नुपर्ने हुन्थ्यो। अब माइक्रोसफ्टले यो सुविधा सिधै विन्डोजमै दिने भएको हो यद्यपि भाइभटूल अझै प्रारम्भिक फिचर परीक्षणका लागि उपयोगी रहन सक्छ।

यी सबै परिवर्तनहरू आगामी केही हप्तामा लागू हुनेछन्। हालका बीटा, डेभ र क्यानरी च्यानलका प्रयोगकर्ताहरूलाई नयाँ च्यानलमा स्वतः सारिनेछ, तर उनीहरू कुन संस्करण प्रयोग गरिरहेका छन् भन्ने आधारमा फरक च्यानलमा पठाइनेछ।

डेभ प्रयोगकर्ताहरूलाई विन्डोज ११ को २५एच२ एक्सपेरिमेन्टल च्यानलमा सारिनेछ। क्यानरी प्रयोगकर्तामध्ये २८००० सिरिज बिल्ड प्रयोग गर्नेहरूलाई २६एच१ एक्सपेरिमेन्टलमा र २९५०० सिरिज प्रयोग गर्नेहरूलाई “एक्सपेरिमेन्टल (फ्युचर प्लेटफर्म्स)” मा सारिनेछ।

प्रकाशित: ३० चैत्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार