
काठमाडौं ।
हुलाकमार्फत हुने कुरियर सेवाका लागि अब ‘एक्सप्रेस वे’ (द्रुतमार्ग) प्रयोग गरिने व्यवस्था लागू गरिएको छ भने अब सार्वजनिक बिदाका दिन पनि हुलाकबाट कुरियर सेवा पाइनेछ।
सञ्चारमन्त्री तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिना को निर्देशनपछि हुलाक सेवा विभागले विभिन्न निकायहरुसँगको समन्वयमा हुलाकबाट हुने वस्तु आयात–निर्यातका लागि थप सहज बनाएको हो ।
यस व्यवस्थाबाट विदेश पठाइने तथा विदेशबाट आयात गरिएका मालवस्तुको जाँचपास छिटो, सुरक्षित र भरपर्दो हुने अपेक्षा गरिएको छ ।
हुलाक सेवा विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालय र नागरिक उड्डयन प्राधिकरण बीचको समन्वयमा यो प्रणाली लागू गरिएको हो ।
विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनी का अनुसार लामो प्रयासपछि मन्त्रालयको निर्देशनमा यो कार्यान्वयन भएको हो।
अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा हुलाक कुरियरका लागि छुट्टै (डेडिकेटेड) जाँचपास प्रणाली स्थापना गरिनेछ ।
सार्वजनिक बिदाका दिन पनि हुलाक कार्यालयबाट विदेश पठाउने र विदेशबाट आएका सामान छुटाउने सेवा उपलब्ध हुने भएको छ ।
यसअघि गोश्वारा हुलाक कार्यालय डिल्लीबजार खुले पनि भन्सार र बैंक बन्द हुँदा सेवा प्रभावकारी हुन सकेको थिएन ।
अन्तरनिकाय समन्वय अभावका कारण आएको गुनासोपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चासो दिएर सुधार प्रक्रिया अघि बढाएको हो ।
गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट गत फागुन महिनामा मात्र १९ हजार दुई सय भन्दा बढी पुलिन्दा, पार्सल, साना प्याकेट, साधारण चिट्ठी, रजिस्ट्री चिट्ठी, बुक पोस्ट लगायत वस्तु विदेशबाट आएका थिए । त्यस्तै निर्यात भएका यस्ता वस्तुको संख्या ११ हजार सात सय हाराहारी छ ।
पछिल्लो समय हुलाकमार्फत हुने कुरियर सेवाको माग बढ्दै गएको छ र द्रुतमार्ग तथा बिदाको दिन सेवा सञ्चालनले सेवा गुणस्तर, व्यवसाय विस्तार र राजस्व वृद्धि सबैमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
प्रकाशित: २३ चैत्र २०८२, सोमबार