
काठमाडौं ।
नेपालमा माघ मसान्तसम्म मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा चलाउनेको संख्या २ करोड ७२ लाख ५९ हजार ३२६ पुगेको छ।
यो सङ्ख्या चालु आर्थिक वर्षको सो अवधिसम्म थ्रीजी र फोरजी सेवा लिनेहरु मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ताको समग्र आँकडा हो।
हालै नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८२ माघ मसान्तसम्मको तथ्यांक अनुसार मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रयोगकर्ताहरुको संख्या अघिल्लो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा ११ लाख ४१ हजार ४२२ ले बढेको हो। यो सङ्ख्या गत आर्थिक वर्षको माघ मसान्तसम्म २ करोड ६१ लाख १७ हजार ९०२ रहेको थियो।
२०८२ माघ महिनासम्मको समग्र २ करोड ७२ लाख ५९ हजार ३२६ ग्राहकमध्ये नेपाल टेलिकमका समग्र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ताको सङ्ख्या १ करोड ५१ लाख ८६ हजार ८७ रहेको छ।
यो सङ्ख्यामा टुजीका प्रयोगकर्ता शून्य छ भने थ्रीजीका ७ लाख १ हजार ८८६ तथा फोरजीका १ करोड ४४ लाख ८४ हजार २०१ समावेश छन्।
तथ्यांकअनुसार एनसेलका समग्र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ता १ करोड, २० लाख, ७३ हजार २३७ रहेका छन्। यीमध्ये थ्रीजीका प्रयोगकर्ता ९१ हजार ३२९ र फोरजी १ करोड १९ लाख ८१ हजार ८४५ रहेका छन्।
फोरजी
टेलिकम र एनसेल दुवैले थपे
२०८१ माघ मसान्तको तुलनामा २०८२ माघ मसान्तसम्म नेपाल टेलिकमले फोरजी सेवा लिने ग्राहक उल्लेख्य थपेको छ।
फोरजीका हकमा १ वर्षमा नेपाल टेलिकमले ११ लाख ९ हजार ५१० ग्राहक थपेको छ। २०८१ माघ मसान्तसम्म नेपाल टेलिकमका फोरजी ग्राहक १ करोड ३३ लाख ७४ हजार ६९१ थिए भने २०८२ माघमा आइपुग्दा यो सङ्ख्या १ करोड ४४ लाख ८४ हजार २०१ पुगेको छ।
एनसेलले पनि एक वर्षमा १ लाख ५९ हजार ४९५ ग्राहक थपेको प्रतिवेदनले देखाएको छ। २०८१ माघ मसान्तसम्म एनसेलका फोरजी ग्राहक १ करोड १८ लाख २२ हजार ३५० थिए भने २०८२ माघमा आइपुग्दा बढेर यो सङ्ख्या १ करोड १९ लाख ८१ हजार ८४५ पुगेको छ।
थ्रीजी
टेलिकम र एनसेलले दुवैले गुमाए
२०८२ माघ महिनासम्ममा नेपाल टेलिकमले आफ्ना थ्रीजी प्रयोगकर्ताको सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८० हजार ४१४ ले गुमाएको छ। हाल नेपाल टेलिकमका थ्रीजी प्रयोगकर्ता ७ लाख १ हजार ८८६ रहेका छन्। यो आँकडा २०८१ माघ मसान्तसम्म ७ लाख ८२ हजार ३०० रहेको थियो।
एनसेलले पनि ४७ हजार १६९ ग्राहक गुमाउँदै समग्रमा आफ्ना थ्रीजी प्रयोगकर्ताको सङ्ख्या ९१ हजार ३९२ मा झारेको छ। यो आँकडा २०८१ माघ मसान्तसम्म १ लाख ३८ हजार ५६१ रहेको थियो।
समग्रमा हेर्दा एक वर्षमा मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ता केही बढेका छन्। तीमध्ये नेपाल टेलिकमले थ्रीजीमा गुमाएको र फोरजीमा थपेको छ भने एनसेलले भने थ्रीजी र फोरजी दुवैका प्रयोगकर्ता गुमाएको प्रतिवेदनले देखाएको छ।
प्रकाशित: २ चैत्र २०८२, सोमबार