
काठमाडौं ।
काठमाडौं । सरकारी निकायका वेबसाइटहरुमा समस्या आएको छ । सरकारले संचालन गर्ने डट जीओभी डट एनपी डोमेन भएका वेबसाइटहरुमा समस्या देखिएको हो ।
सरकारी डोमेन भएका कुनैपनि वेबसाइटहरु संचालनमा नआएको एक सरकारी अधिकारीले जानकारी दिए ।
‘हाम्रो मात्र नखुलेको भनेर हेरेको त कुनैपनि सरकारी निकायका वेबसाइटहरु चलेका छैनन्,’ उनले भने ।
सरकारी निकायहरुका डोमेन व्यवस्थापन गर्ने तथा वेबसाइटहरु संचालन गर्ने संस्था नेशनल इन्फर्मेशन टेक्नोलोजी सेन्टर (एनआईटिसी) को वेबसाइट नै समस्यामा रहेको छ । सो वेबसाइट पनि खुल्न सकेको छैन् ।

एनआईटिसीका एक अधिकारीले वेबसाइटहरुमा समस्या आएको तर के भएको भन्न नसकिने जानकारी दिए । ‘कुनै ह्याकिंगको कारणले बन्द भएको भने होईन्,’ उनले भने ।
यो समाचार तयार पार्दासम्म प्रधानमन्त्री कार्यालयको वेबसाइट, संचार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइट, अर्थ मन्त्रालयको वेबसाइट, नेपाल दूरसंचार प्राधिकरणको वेबसाइट, सूचना प्रविधि विभागको वेबसाइट लगायतका सरकारी निकायका वेबसाइटहरु डाउन भएका छन् ।
अपडेटः हाल डाउन भएका सबै सरकारी वेबसाइट संचालनमा आईसकेका छन् । एकैपटक सर्भरमा धेरै ट्राफिक आउँदा समस्या आएको जीआईडिसीले जानकारी दिएको छ ।
प्रकाशित: २२ बैशाख २०७६, आईतवार