
काठमाडौं ।
डिज्नीले चिनियाँ कम्पनी बाइटडान्सलाई अनुमति बिना आफ्ना पात्रहरू प्रयोग गरेको आरोप लगाउँदै ‘सीज एन्ड डेजिस्ट’ पत्र पठाएको एक स्रोतले रोयटर्सलाई जानकारी दिएको छ। सीज एन्ड डेजिस्टको अर्थ कुनै पनि व्यक्ति वा संस्थाले गरिरहेको कुनै काम ‘तत्काल रोक्नु र फेरि अघि नबढाउनु’ भन्ने बुझिन्छ।
डिज्नीले बाइटडान्सले आफ्नो सीडान्स २.० एआई भिडियो जेनेरेटरमा स्टार वार्स र मार्भलजस्ता फ्रेन्चाइजका कपीराइट सुरक्षित पात्रहरूको पाइरेटेड लाइब्रेरी समावेश गरेको र तिनीहरूलाई सार्वजनिक डोमेन क्लिप आर्ट जस्तै प्रस्तुत गरेको दाबी गरेको छ। पत्रमा सीडान्सले स्पाइडरम्यान, डार्थ भेडरलगायतका पात्रहरू समावेश सामग्री पुनःउत्पादन, वितरण र नयाँ रूपान्तरण (डेरिभेटिभ) कार्य सिर्जना गरिरहेको आरोप लगाइएको छ।
बाइटडान्सले आइतबार बीबीसीलाई दिएको प्रतिक्रियामा आफ्नो सीडान्स २.० एआई उपकरणमा कपीराइट पात्र र सेलिब्रेटीहरूको अनुहारको अनधिकृत प्रयोग रोक्न सुरक्षात्मक उपायहरू कडा बनाइने जनाएको छ। टिप्पणी माग गर्दा बाइटडान्सले तुरुन्त प्रतिक्रिया नदिएको रोयटर्सले उल्लेख गरेको छ।
डिज्नीको कदमबारे सबैभन्दा पहिले अनलाइन समाचार माध्यम एक्जियसले रिपोर्ट गरेको थियो। साथै प्यारामाउण्ट स्काइडान्सले पनि बाइटडान्सविरुद्ध आफ्नो बौद्धिक सम्पत्तिको “स्पष्ट उल्लंघन” गरेको आरोप लगाउँदै ‘सीज एन्ड डेजिस्ट’ पत्र पठाएको भेराइटीले जनाएको छ।
गत साता सार्वजनिक गरिएको सीडान्स २.० बाट बनाइएका भिडियोहरू चीनमा भाइरल भएका छन् जसमा टम क्रुज र ब्राड पिटबीचको लडाइँ देखाइएको भिडियो पनि समावेश छ। यो एआई मोडेललाई डीपसिकसँग तुलना गरिएको छ र थोरै निर्देशनमै सिनेम्याटिक कथा सिर्जना गर्न सक्ने क्षमताका लागि प्रशंसा गरिएको छ।
डिज्नीले यसअघि पनि क्यारेक्टर डट एआई विरुद्ध समान कदम चाल्दै आफ्नो कपीराइट पात्रहरूको अनधिकृत प्रयोग तुरुन्त रोक्न माग गरेको थियो। डिसेम्बरमा डिज्नीले ओपनएआईसँग लाइसेन्स सम्झौता गर्दै सोरा भिडियो जेनेरेटरमा स्टारवार्स, पिक्सार र मार्भल फ्रेन्चाइजका पात्रहरू प्रयोग गर्न अनुमति दिएको थियो।
प्रकाशित: ४ फाल्गुन २०८२, सोमबार