नियम विपरीत कम्पनीको निमित्त प्रबन्ध निर्देशक नियुक्ति गरेको भन्दै दूरसञ्चार कर्मचारी संगठनहरुद्वारा सञ्चार मन्त्रालयलाई ध्यानाकर्षण

  • Technology Khabar | १ फाल्गुन २०८२, शुक्रबार
नियम विपरीत कम्पनीको निमित्त प्रबन्ध निर्देशक नियुक्ति गरेको भन्दै दूरसञ्चार कर्मचारी संगठनहरुद्वारा सञ्चार मन्त्रालयलाई ध्यानाकर्षण

काठमाडौं ।

नियम विपरीत कम्पनीको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोललाई नियुक्त गरेको भन्दै नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन तथा नेपाल रास्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकमले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ध्यानाकर्षण गराएका छन्।

दुवै कर्मचारी सङ्गठनले हालै पत्रमार्फत् मन्त्रालयको ध्यानाकर्षण गराएको हुन्। उक्त पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, निर्वाचन आयोग तथा नेपाल दूरसञ्चार कम्पनी सञ्चालक समितिलाई बोधार्थ गरिएको छ।

कम्पनीका निमित्त प्रबन्ध निर्देशक सविना मास्के प्रधान उमेर हदबाट माघ २१ गतेबाट अनिवार्य अवकाश भएकाले रिक्त पदमा सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयको मिति २०८२/१०/२३ च. न. संस्थान / १६३९/क को पत्रबाट नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी सेवा शर्त विनियमावली २०७८ को विनियम ४९ (१) अनुसार कम्पनीको निमित्त प्रबन्ध निर्देशकको कामकाज गर्ने गरी गरिएको पत्राचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको कर्मचारी सङ्गठनले पत्रमा उल्लेख गरेका छन्।

मास्केलाई गत माघ २२ गते बसेको मन्त्रीस्तरीय बैठकले साविकको जिम्मेवारी यथावत् रहने गरी कम्पनीकी निर्देशक रीना डङ्गोललाई निमित्त प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो। डंगोल २०८० जेठ ३२ गतेदेखि नेपाल टेलिकमको नायव प्रबन्ध निर्देशकका रूपमा कार्यरत रहँदै आएकी थिइन्।

कसरी नियम विपरीत?

‘नेपाल दूरसंचार कम्पनी लिमिटेड कर्मचारी सेवा शर्त विनियमावली २०७८ को नियम ४९ को (१) मा भएको व्यवस्था ‘कुनै कार्यालय प्रमुख बिदा वा काजमा गएमा वा सो पद कुनै तरिकाले रिक्त रहेमा कार्यालय प्रमुख पछिको सबैभन्दा वरिष्ठ कर्मचारीले निमित्त भई काम गर्न पर्नेछ” भन्ने स्पस्ट व्यवस्था रहेको र यस अघि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी तोकिँदा समेत वरिष्ठतम् कर्मचारीलाई नै जिम्मेवारी दिइँदै आएको अवस्थामा सोही विनियमलाई आधार मानी कम्पनीको वरिष्ठतम कर्मचारी भन्दा फरक कर्मचारीलाई निमित्तको जिमेवारी दिने कार्यले कम्पनीको आन्तरिक व्यवस्थापनमा गलत नजीर स्थापित हुने अवस्था सिर्जना भएको छ’, ध्यानाकर्षण पत्रमा उल्लेख छ।

यस हिसाबले हेर्दा सरकारले डङ्गोललाई दिएको पत्रमा उल्लेख गरेको उक्त विनियमअनुसार उनको नियुक्ति हुन सक्ने देखिँदैन। उक्त विनयम ४९ मा नेपाल टेलिकमको निमित्त भई काम गर्ने बारेमा व्यवस्था गरिएको छ।

यसको उपविनियम (१) मा स्पष्टरुपमा कार्यालय प्रमुख पछिको सबैभन्दा वरिष्ठ कर्मचारीले जिम्मा पाउने लेखिएको छ। तर सरकारले भने उक्त विनियम उल्लेख गरेर पनि त्यसको बर्खिलाफ हुनेगरी कनिष्ठ कर्मचारी डंगोललाई नियुक्त गरेको हो।

उक्त उपविनियम (१) मा भनिएको छ, “कुनै कार्यालय प्रमुख बिदा वा काजमा गएमा वा सो पद कुनै तरिकाले रिक्त रहेमा कार्यालय प्रमुख पछिको सबैभन्दा वरिष्ठ कर्मचारीले निमित्त भई काम गर्नु पर्ने छ।”

प्रकाशित: १ फाल्गुन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार