
काठमाडौं ।
एकीकृत जाँचचौकी (आइसिपी) विराटनगरको व्यवस्थापन हेर्न नयाँ कम्पनी भित्रिएपछि त्यसको सफ्टवेयर सिस्टम अपलोड हुन समय लाग्दा जाँचपासमा असर परेको छ।
भन्सार क्षेत्रमा प्रवेश गरेका र जाँचपासपछि बाहिरिने मालवाहक सवारीको विवरण अनलाइन प्रणालीमा प्रविष्टि गर्न नसक्दा आइसिपीपरिसरमा सवारी व्यवस्थापन असहज बनेको हो।
ट्रान्स नेपाल फ्रेट सर्भिसेजले व्यवस्थापनको जिम्मा लिइरहेको आइसिपी विराटनगरमा ट्रान्स नेपाल टिआएस लोजी पार्क प्रालिसमेत भेन्चर्स भएर भित्रिएको छ।
उक्त कम्पनीका प्रतिनिधि रविकान्त विद्यार्थीले भन्सारको आसिकुडा र राजस्वको आइआरडीले नयाँ सफ्टवेयरलाई अप्रुभल नगर्दाको समस्या मात्रै रहेको बताए।
उनका अनुसार कम्पनी नयाँ भएपछि त्यसको सफ्टवेयर पनि नयाँ हुन्छ, देशका अन्य पाँच भन्सारमा प्रयोग भइरहेकै सफ्टवेयर भए पनि आइसिपी विराटनगरका लागि नयाँ हुँदा अलि समस्या परेको हो।
विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष देवकीनन्दन शर्माले तयारी नगरी सेवा दिँदा उत्पन्न परिस्थितिले भद्रगोल सिर्जना गरेको आरोप लगाए। शर्माका अनुसार भन्सार क्षेत्रमा सफ्टवेयरको समस्या देखाएर पार्किङ नपाउँदा मालवाहक सवारीको जाम लागेको छ।
मङ्गलबारदेखि नै यो समस्या देखिएको हो र बुधबार साँझसम्म पनि कायम रहेकाले आज बिहीबारलाई समेत सवारी व्यवस्थापनमा समस्या हुने अनुमान छ। विराटनगर भन्सार कार्यालयका अधिकृत एवं सूचना अधिकारी विमलकुमार साहले जाँचपासमा कुनै समस्या नरहे पनि सवारी व्यवस्थापनमा अवरोध भएको बताए।
मालवस्तु बोकेका सवारी आइसिपीपरिसरमा भित्रँदा त्यसको वजन लिने र सफ्टवेयरमा प्रविष्ट गर्ने काम व्यवस्थापन हेर्ने कम्पनीले गर्दछ । व्यवस्थापन गर्ने कम्पनीले यस्ता सवारीसँग शुल्क लिन्छ।
त्यसका आधारमा उसले पार्किङलगायतका सेवा दिनुपर्ने हुन्छ । भन्सारले जाँचपास गरिसकेका सवारीसाधन बाहिर निस्कँदासमेत यही कम्पनीले रेकर्ड राख्नुपर्ने हुन्छ । यी दुवै प्रक्रियामा कम्प्युटर प्रणाली अपनाइन्छ। अनि गेटपाससमेत उपलब्ध गराउने गरिन्छ।
नेपाल इन्टरमोडल यातायात विकास समिति अन्तर्गत रहने आइसिपीको व्यवस्थापन निजी कम्पनीलाई दिइन्छ। आइसिपी विराटनगरसम्म कार्गो रेल आउँदा त्यसको व्यवस्थापन गर्ने क्षमता विकास गर्ने गरी नयाँ कम्पनी भित्रिएको दाबी गरिएको छ।
सफ्टवेयरमा समस्या देखिएर सवारीसाधन रोक्नु परेपछि कम्पनीका प्रतिनिधि र भन्सार एजेन्ट सङ्घबिच बुधबार दिउँसो दोहोरो भनाभन भएको थियो। साँझसम्म दुवै पक्ष पर्ख र हेरको स्थितिबाट दिन गुजार्नु परेको एजेन्ट सङ्घका अध्यक्ष शर्माले बताए।
आजको गोरखापत्रबाट
प्रकाशित: २९ माघ २०८२, बिहीबार