टेलिफोनिकाले कोलम्बियामा रहेको व्यवसाय बिक्री गरेर डेढ अर्ब युरो ऋण घटायो

  • Technology Khabar | २९ माघ २०८२, बिहीबार
टेलिफोनिकाले कोलम्बियामा रहेको व्यवसाय बिक्री गरेर डेढ अर्ब युरो ऋण घटायो

काठमाडौं ।

टेलिफोनिकाले कोलम्बियामा आफ्नो व्यवसाय बिक्री गरेपछि १.५ अर्ब युरो ऋण घटाएको छ। यो सम्झौताले कोलम्बियाको प्रतिस्पर्धात्मक बजार संरचनामा ठूलो परिवर्तन ल्याउने भएको छ, जसलाई नियामक निकायहरूले समर्थन गरेका छन्।

यसले मोबाइल बजारलाई प्रभावकारी रूपमा दुई प्रमुख कम्पनीको प्रतिस्पर्धामा रूपान्तरण गर्नेछ।

टेलिफोनिकाले गत वर्ष मार्चमा महिनौँको तयारीपछि गरेको २१४ मिलियन अमेरिकी डलरको सम्झौता गत साता सम्पन्न भएको घोषणा गरेको छ। कम्पनीले आगामी दिनमा चार प्रमुख भौगोलिक बजारमा केन्द्रित हुने योजना अनुसार यो निर्णय लिएको हो। तर यो रणनीतिक ध्यान मात्र नभई कम्पनीको वित्तीय अवस्थासँग पनि सम्बन्धित छ।

“यो कारोबार सम्पन्न भएसँगै टेलिफोनिका समूहको खुद वित्तीय ऋण करिब १,५५० मिलियन युरोले घटेको छ,” स्पेनी कम्पनीले सेयर बजारमा गरेको छोटो घोषणामा जनाएको छ। सेप्टेम्बर अन्त्यसम्म कम्पनीको खुद वित्तीय ऋण २८.२ अर्ब युरो (हालको विनिमय दरअनुसार करिब ३३.६ अर्ब अमेरिकी डलर) रहेको थियो।

टेलिकम्स डटकमका अनुसार यो कारोबारअन्तर्गत टेलिफोनिकाले कोलम्बियाको टेलिकम्युनिकासियोनेस (कोलटेल) मा रहेको आफ्नो सम्पूर्ण ६७.५ प्रतिशत सेयर हस्तान्तरण गरेको छ। कोलटेलले ‘मुभिस्टार’ ब्रान्डमार्फत सेवा प्रदान गर्दै आएको छ।

मिलिकमले पनि यसबारे समान वक्तव्य जारी गरेको छ। टेलिफोनिकाको सेयर खरिद गर्नु कोलम्बियामा आफ्नो व्यवसाय विस्तार गर्ने ठूलो योजनाको हिस्सा भएको मिलिकमले जनाएको छ। टेलिफोनिकाको ६७.५ प्रतिशत सेयरसँगै सरकारले राखेको ३२.५ प्रतिशत सेयर पनि किन्ने योजना रहेको र “अप्रिलतिर” त्यस प्रक्रिया पूरा हुने अपेक्षा गरिएको छ।

मिलिकम पहिले नै टिगो यूएनईमार्फत कोलम्बियाको मोबाइल बजारमा उपस्थित छ। गत महिना सार्वजनिक लिलाम प्रक्रियामार्फत मेडेलिन सहरको ५० प्रतिशत सेयर पनि उसले किनेको थियो।

यसरी कोलम्बियाका दोस्रो र तेस्रो ठूलो मोबाइल सेवा प्रदायकलाई एकीकृत गर्न मिल्ने भएपछि नियामक चिन्ता बढेको थियो र गत वर्षको अन्त्यतिर सम्झौता रोकिने सम्भावना देखिएको थियो।

मे महिनामा कोलम्बियाको सञ्चार नियमन आयोग (CRC) ले मर्जरबारे आफ्नो धारणा दिएको थियो। उसले यसबाट दक्षता बढेर उपभोक्तालाई फाइदा पुग्न सक्ने भए पनि बजारका ठूला कम्पनीबाट प्रतिस्पर्धा विरोधी अभ्यास हुन सक्ने चेतावनी दिएको थियो।

तर पछि प्रतिस्पर्धा नियामक निकाय सुपेरिन्टेन्डेन्सिया डे इन्डुस्ट्रिया वाई कोमेर्सियो (एसआईसी) ले नोभेम्बरमा केही साना सर्तसहित मर्जरलाई स्वीकृति दिएको थियो। ती सर्तमा एमभीएनओका लागि उचित नेटवर्क पहुँच शुल्क सुनिश्चित गर्नुपर्ने प्रावधान पनि समावेश छ।

एकीकरण प्रक्रिया पूरा भएपछि कोलम्बियाको मोबाइल बजार व्यावहारिक रूपमा दुई प्रमुख कम्पनीबीचको प्रतिस्पर्धामा सीमित हुनेछ। मर्ज भएको टिगो यूएनई/मुभिस्टारले बजार अग्रणी क्लारोसँग प्रतिस्पर्धा गर्नेछ।

सीआरसीका पछिल्ला तथ्यांकअनुसार २०२४ को अन्त्यसम्म अमेरिकामोभिलको क्लारोले ५१.७ प्रतिशत बजार हिस्सा ओगटेको थियो भने टिगो यूएनई/मुभिस्टारको संयुक्त हिस्सा ३८.४ प्रतिशत थियो।

यी तथ्यांकका कारण पनि अधिकारीहरूले सम्झौता रोक्ने प्रयास नगरेका हुन्। अलग–अलग अवस्थामा यी कुनै पनि कम्पनीले क्लारोको प्रभुत्व घटाउन सक्ने सम्भावना कम थियो।

बजारमा चौथो खेलाडी पार्टनर्स टेलिकम कोलम्बिया (डब्लूओएम) पनि छ। तर यसको बजार हिस्सा १० प्रतिशतभन्दा कम भएकाले प्रभावकारी प्रतिस्पर्धा दिन सकेको छैन। साथै ‘डब्लूओएम’ ब्रान्ड नामसम्बन्धी कानुनी विवादमा फसेको छ, जसको अधिकार गत वर्ष गर्मीमा सकिएको बताइएको छ।

“यो अधिग्रहणले कोलम्बियाप्रति हाम्रो दीर्घकालीन प्रतिबद्धता बलियो बनाउने निर्णायक कदम हो। यसले हामीलाई ठूलो आकार, मजबुती र लगानी क्षमता दिन्छ, जुन अहिले क्षेत्रलाई आवश्यक छ,” मिलिकमका सीईओ मार्सेलो बेनिटेजले भने। “यस प्लेटफर्ममार्फत हामी फाइबर र ५जी विस्तार, सेवा क्षेत्र विस्तार र लाखौँ कोलम्बियालीका लागि सेवा गुणस्तर सुधार गर्न छिटो अघि बढ्न सक्छौँ।”

अमेरिकामोभिलको प्रभुत्व रहेको क्षेत्रमा यो अभिव्यक्ति अन्य बजारभन्दा बढी यथार्थपरक देखिन्छ। यससँगै कोलम्बियाले बलियो प्रतिस्पर्धी पाउने दिशा लिएको छ भने टेलिफोनिकाले आफ्नो ऋण घटाएर हिस्पानोअमेरिका बजारबाट बाहिरिने योजनामा अर्को कदम अघि बढाएको छ। सबै पक्षका लागि यो सकारात्मक दिन सावित भएको छ।

प्रकाशित: २९ माघ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...