
काठमाडौं ।
ओपनएआईले च्याटजीपीटीमा विज्ञापन देखाउन सुरु गरेको छ। ओपनएआईले सोमबार अमेरिकामा फ्री र गो सब्स्क्रिप्सन प्रयोगकर्ताका लागि विज्ञापन परीक्षण सुरु गरेको घोषणा गरेको हो।
नयाँ गो योजना कम मूल्यको सब्स्क्रिप्सन हो जसको अमेरिकामा मासिक शुल्क ८ डलर छ र यो जनवरीको मध्यतिर विश्वव्यापी रूपमा सुरु गरिएको थियो। कम्पनीका अनुसार प्लस, प्रो, बिजनेस, इन्टरप्राइज र एजुकेशनजस्ता भुक्तानी गर्ने अन्य योजनाका प्रयोगकर्ताले भने विज्ञापन देख्ने छैनन्।
विज्ञापनले प्रयोगकर्ता अनुभवमा असर पार्ने हो कि भन्ने चिन्तालाई सम्बोधन गर्दै ओपनएआईले ब्लग पोस्टमा भनेको छ, “विज्ञापनले च्याटजीपीटीले दिने उत्तरलाई प्रभावित गर्दैनन् र हामी तपाईंका च्याटजीपीटी सँगका कुराकानी विज्ञापनदाताबाट गोप्य राख्छौँ। हाम्रो लक्ष्य भनेको विज्ञापनमार्फत थप शक्तिशाली च्याटजीपीटी सुविधामा व्यापक पहुँच दिनु हो, तर मानिसहरूले च्याटजीपीटी माथि महत्वपूर्ण र व्यक्तिगत कामका लागि राखेको विश्वास कायम राख्नु पनि हो।”
कम्पनीले यो कदम गत महिना घोषणा गरेपछि आइतबार प्रसारित सुपर बाउल विज्ञापनहरूमा प्रमुख प्रतिस्पर्धी एन्थ्रोपिकले यसको खिल्ली उडाएको थियो।
टेलिभिजन विज्ञापनहरूमा एन्थ्रोपिकले ओपनएआई जस्ता केही एआई कम्पनीले चाँडै विज्ञापन समावेश गर्न सक्ने धारणा प्रति व्यंग्य गरेको थियो। ती विज्ञापनमा एआई च्याटबोटको भूमिका निभाएका पात्रहरूले सल्लाह दिँदै गर्दा त्यसैसँग मेल नखाने विज्ञापन देखाइने दृश्य देखाएर उपभोक्ता अनुभव कसरी बिग्रन सक्छ भन्ने देखाइएको थियो।
टेकक्रञ्चका अनुसार ओपनएआईका प्रमुख कार्यकारी अधिकृत स्याम आल्टम्यानले ती आलोचनाप्रति कडा प्रतिक्रिया जनाउँदै विज्ञापनहरूलाई “बेइमान” भनेका छन् र एन्थ्रोपिकलाई “सत्तावादी कम्पनी” को संज्ञा दिएका छन्।
हालसम्म उपभोक्ताहरू एआईका उत्तरमा विज्ञापन देखाउने अवधारणाप्रति उत्साहित देखिएका छैनन्। गत वर्षको अन्त्यतिर ओपनएआई ले अवाञ्छित विज्ञापनजस्ता देखिने एप सुझावहरू परीक्षण गर्दा आलोचना सामना गर्नुपरेको थियो। तर लोकप्रिय च्याटबोट विकास र व्यवसाय विस्तारको लागत धान्न कम्पनीलाई आम्दानी आवश्यक रहेको पनि यथार्थ हो।
आलोचकहरूले विज्ञापनले च्याटजीपीटीका उत्तरमा प्रभाव पार्न सक्ने डर व्यक्त गरिरहेका छन्। ओपनएआईले भने यसलाई अस्वीकार गर्दै विज्ञापन “तपाईंलाई सबैभन्दा उपयोगी हुने आधारमा” अनुकूलित गरिने बताएको छ। कम्पनीका अनुसार विज्ञापन सधैं प्रायोजित भनेर स्पष्ट रूपमा चिनाइनेछ र सामान्य सामग्रीबाट छुट्टै देखाइनेछ।
परीक्षणका क्रममा ओपनएआईले प्रयोगकर्ताको कुराकानीको विषय, अघिल्ला च्याटहरू र विगतका विज्ञापनसँगको अन्तरक्रियाका आधारमा विज्ञापन मिलाउने प्रयास गरेको छ।
उदाहरणका लागि, रेसिपी खोजिरहेका प्रयोगकर्तालाई किराना डेलिभरी सेवा वा मील किटसम्बन्धी विज्ञापन देखिन सक्छ। ओपनएआईले विज्ञापनदातालाई प्रयोगकर्ता डाटा नदिइने, केवल विज्ञापन कति पटक हेरियो वा क्लिक भयो जस्ता समग्र जानकारी मात्र उपलब्ध गराइने जनाएको छ।
प्रयोगकर्ताले विज्ञापनसँगको अन्तरक्रियाको इतिहास हेर्न र चाहेको बेला मेट्न सक्नेछन्। साथै विज्ञापन हटाउने, प्रतिक्रिया दिने, किन त्यो विज्ञापन देखाइयो भन्ने जानकारी हेर्ने र विज्ञापन व्यक्तिगतरण सेटिङ व्यवस्थापन गर्ने सुविधा पनि उपलब्ध हुने बताइएको छ।
१८ वर्षमुनिका प्रयोगकर्तालाई विज्ञापन देखाइने छैन, र स्वास्थ्य, राजनीति वा मानसिक स्वास्थ्यजस्ता संवेदनशील वा नियमन गरिएका विषयसँग सम्बन्धित सामग्री नजिक पनि विज्ञापन राखिने छैन।
प्रकाशित: २८ माघ २०८२, बुधबार