
काठमाडौं ।
ताइवानको सेमिकन्डक्टर उत्पादन क्षमताको ४० प्रतिशत अमेरिका सार्नु “असम्भव” हुने ताइवानकी शीर्ष भन्सार वार्ताकारले बताएकी छन्। अमेरिकी अधिकारीहरूले ठूलो मात्रामा उत्पादन अमेरिका सार्नुपर्ने भन्दै दिएका पछिल्ला अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै उनले यस्तो टिप्पणी गरेकी हुन्।
आइतबार राति ताइवानको टेलिभिजन च्यानल सीटीएसमा प्रसारित अन्तर्वार्तामा उपप्रधानमन्त्री चेंग ली–चुनले दशकौँ लगाएर विकास गरिएको ताइवानको सेमिकन्डक्टर इकोसिस्टम अन्यत्र सार्न नसकिने कुरा वाशिङ्टनलाई स्पष्ट रूपमा बताएको जानकारी दिइन्।
“मैले संयुक्त राज्य अमेरिकालाई यो असम्भव छ भन्ने कुरा एकदम स्पष्ट रूपमा भनेकी छु,” उनले अमेरिकाले अघि सारेको ४० प्रतिशत लक्ष्यबारे उल्लेख गर्दै भनिन्।
चेंगका अनुसार ताइवानमै आधारित सेमिकन्डक्टर इकोसिस्टम निरन्तर विस्तार हुँदै जानेछ र उद्योगले स्वदेशमै लगानी बढाइरहनेछ। “ताइवानमा हाम्रो समग्र उत्पादन क्षमता अझै बढ्दै जानेछ,” उनले भनिन्। “तर हामी अमेरिका भित्र आफ्नो उपस्थितिलाई पनि विस्तार गर्न सक्छौँ।”
उनले अमेरिकामा थप लगानीसहितअन्तर्राष्ट्रिय विस्तार ताइवानमै गहिरो रूपमा जरा गाडेर र स्वदेशी लगानी निरन्तर बढाउने आधारमा मात्र सम्भव हुने स्पष्ट पारिन्।
मंगलबार अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले सेमिकन्डक्टर उत्पादन अमेरिका फर्काउन आवश्यक रहेको बताएका थिए। “चीनबाट ८० माइल टाढा मात्रै सबै सेमिकन्डक्टर उत्पादन हुनु तर्कसंगत छैन,” उनले भने। “त्यसैले हामीले यसलाई फिर्ता ल्याउनुपर्छ।”
उनले वर्तमान प्रशासनको कार्यकाल सकिँदा अत्याधुनिक सेमिकन्डक्टर उत्पादनमा ४० प्रतिशत बजार हिस्सा हासिल गर्ने लक्ष्य रहेको पनि बताए।
रोयटर्सका अनुसार गत महिना ताइवान र अमेरिकाबीच ताइवानका निर्यातमा लाग्ने भन्सार दर २० प्रतिशतबाट घटाएर १५ प्रतिशतमा झार्ने तथा ताइवानले अमेरिकामा लगानी बढाउने सहमति भएको थियो।
चेंगले ताइवानका विज्ञान पार्कहरू अन्यत्र सार्ने कुनै योजना नरहेको स्पष्ट पार्दै उद्योग क्लस्टर विकासको अनुभव अमेरिका लगायत अन्य देशहरूसँग बाँड्न भने तयार रहेको बताइन्। यसले अमेरिकालाई पनि समान खालको सेमिकन्डक्टर वातावरण विकास गर्न सहयोग पुग्ने उनको भनाइ छ।
उनका अनुसार उन्नत उत्पादन, उन्नत प्याकेजिङ र सम्पूर्ण आपूर्ति शृंखलासहित—अहिले सञ्चालनमा रहेका, निर्माणाधीन र योजनामा रहेका सबै परियोजनाहरू जोड्दा—ताइवानको सेमिकन्डक्टर क्षमता अमेरिका वा अन्य कुनै देशमा गरिने लगानीभन्दा धेरै बढी हुनेछ।
गत महिना सीएनबीसीलाई दिएको अन्तर्वार्तामा लुटनिकले ताइवानको सम्पूर्ण चिप आपूर्ति शृंखला र उत्पादनको ४० प्रतिशत अमेरिका ल्याउने लक्ष्य रहेको बताएका थिए। यदि यस्तो नभए ताइवानमाथि १०० प्रतिशतसम्म भन्सार लगाउन सकिने चेतावनी पनि उनले दिएका थिए।
सेप्टेम्बरमा लुटनिकले न्युजनेशन टेलिभिजनसँगको अन्तर्वार्तामा ताइवानसँग चिप उत्पादन ५०–५० को अनुपातमा बाँड्ने प्रस्ताव गरिएको बताएका थिए जसलाई ताइवानले त्यसबेला अस्वीकार गरेको थियो।
विश्वकै सबैभन्दा ठूलो कन्ट्र्याक्ट चिप निर्माता टीएसएमसीले अमेरिकाको एरिजोना राज्यमा कारखाना निर्माणका लागि १६५ अर्ब डलर लगानी गरिरहेको छ।
प्रकाशित: २७ माघ २०८२, मंगलवार