भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको आग्रह

  • Technology Khabar | २२ माघ २०८२, बिहीबार
भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको आग्रह
सांकेतिक तस्बिर। फ्रिपिक डटकमको सहयोगमा।

काठमाडौं ।

सामाजिक सञ्जाललगायत अन्य माध्यमको प्रयोग गरी कुनै दल तथा दलका उम्मेदवार वा नेता तथा कार्यकर्तालाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा होच्याउने, भ्रम श्रृजना गर्ने जस्ता कार्य नगर्न विज्ञापन बोर्डले सम्बन्धित सबैमा आग्रह गरेको छ।

बोर्डले आज एक विज्ञप्ति प्रकाशित गरी यस प्रकारको आग्रह गरेको हो। यसका लागि निर्वाचन आयोग र विज्ञापन बोर्डबिच निर्वाचनको समयमा हुने विज्ञापनको अनुगमन, नियमन, छानबिन र कारबाही गर्ने सहमति भई विज्ञापन बोर्डले निर्वाचनको समयमा भएका विज्ञापनको अनुगमन तथा नियमन गरिरहेको छ।

विज्ञापन क्षेत्रको नियामक निकाय विज्ञापन बोर्डले मतदातामा भ्रम श्रृजना गर्ने, होच्याउने तथा भ्रामक श्रव्य तथा श्रव्यदृश्य सामग्री प्रयोग गरि मतदातालाई झुक्याउने जस्ता कार्यको सूक्ष्म अध्ययन गरिरहेको पनि बताएको छ।

फेक आईडीको प्रयोग गरी त्यस प्रकारका कार्य गर्ने/गराउनेलाई कारबाहीको दायरामा ल्याउने काम भइरहेकोले निम्न कामहरु नगर्न/नगराउन सबै राजनितिक दल, उम्मेदवार तथा समर्थकहरूमा बोर्डकव अनुरोध छ:

  • असत्य, भ्रामक वा अफबाह फैलाउने वा अपुष्ट विज्ञापन सामग्री उत्पादन प्रकाशन, प्रसारण, र प्रदर्शन नगर्न/नगराउन
  • कुनै राजनीतिक दल वा उम्मेदवारलाई होच्याउने, भ्रम सिर्जना गर्ने श्रब्य, श्रव्यदृष्य सामग्री उत्पादन, प्रकाशन, प्रसारण र प्रदर्शन नगर्न/नगराउन
  • व्यक्तिको चरित्रहत्या हुने, घृणा फैलाउने, सामाजिक सद्भाव बिथोल्ने वा निर्वाचनको स्वच्छता प्रभावित गर्ने, अमर्यादित व्यवहार गर्ने विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारण नगर्न/नगराउन
  • कृतिम प्रविधिको प्रयोग गरी निर्माण गरिएका श्रव्य तथा श्रव्यदृश्य सामग्री डीपफेक, फेक आईडि मार्फत प्रकाशन तथा प्रसारण गरी मतदातालाई भ्रमित नगर्न/नगराउन
  • सामाजिक सञ्जालमा पोष्ट भएका भ्रमपूर्ण र मिथ्या सूचना तथा सामग्रीलाई लाइक, शेयर, ट्याग वा कमेन्ट नगर्न/नगराउन
  • कुनै राजनीतिक दल तथा उम्मेदवारप्रति लक्षित गरि भ्रम श्रृजना गर्ने खालका पर्चा, पम्प्लेट, पोष्टर, व्यानर तथा अन्य प्रकारका सामग्री उत्पादन, वितरण तथा प्रर्दशन नगर्न/नगराउन
  • भ्रमपूर्ण सूचना, विज्ञापन वा प्रचार सामग्री कुनैपनि माध्यममा प्रकाशन, प्रसारण वा प्रर्दशन भए गरेको पाइएमा विज्ञापन बोर्डमा जानकारी गर्न/गराउनु हुन हार्दिक अनुरोध छ।
  • विज्ञापन (नियमन गर्ने) ऐन, २०७६, विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७, निर्वाचन आचारसंहिता, २०८२, विज्ञापन उत्पादन, वितरण प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता, २०७९ विपरीत कुनैपनि गतिविधि भए/गरेको पाइएमा कानून बमोजिम कारबाही गरिने छ।

प्रकाशित: २२ माघ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...