
काठमाडौं ।
नेपाल टेलिकमको वार्षिकोत्सव चलिरहँदा कर्मचारीहरुले विभिन्न पाँच बुँदे माग राख्दै प्रदर्शन गरेका छन्।
नेपाल टेलिकममा क्रियाशील तीनवटै ट्रेड युनियनहरूसम्बद्ध कर्मचारीहरुले विभिन्न माग राख्दै प्रदर्शन गरेका हुन्। पौष १६ र माघ २० गते संयुक्त रूपमा पेश गरिएको ध्यानाकर्षणमार्फत उठाइएका विषयहरू पौष १६ र माघ २० गते संयुक्त रूपमा पेश गरिएको ध्यानाकर्षणमार्फत उठाइएका विषयहरू समाधान नभएकाले प्रदर्शन गरिएको कर्मचारीहरुको भनाई छ।
असन्तुष्ट कर्मचारीहरुले विशेषगरी नयाँ बिलिङ प्रणाली तथा प्रमुख परियोजनाहरू र प्रतिस्पर्धात्मक वातावरण, अनुमति शुल्क संरचना तथा नियामकीय सरोकार साथै कर्मचारी वृत्तिविकास तथा विनियमावली, सेवाग्राही अधिकार तथा सेवा गुणस्तर साथै कर्मचारी सेवा सुविधासम्बन्धी पाँचबुँदे माग अघि सारेका छन्।

कम्पनीमा सञ्चालनमा रहेको बिलिङ प्रणाली पुरानो भई समयानुकूल स्तरोन्नति गरिएको र नयाँ बिलिङ प्रणाली भित्र्याउन पटक-पटक बोलपत्र प्रक्रिया आह्वान भए तापनि कार्यन्वयन पक्षमा भएको जवाफदेहिताको अभावले अनिश्चित बन्न पुगेकोले यस प्रकारको प्रणाली कार्यान्वयनका लागि लागत, समयसीमा तथा दीर्घकालीन हितलाई ध्यानमा राखी पारदर्शी तथा व्यावहारिक समाधानमार्फत शीघ्र निष्कर्षमा पुयाइनु अत्यावश्यक रहेको विज्ञप्तिमा उल्लेख छ।


वृत्तिविकाससम्बन्धी विषयहरू लामो समयदेखि विचाराधीन अवस्थामा रहेको, थुप्रै कर्मचारी बर्सौंसम्म एकै तहमा रहेको, कम्पनीको साधारणसभाबाट स्वीकृत बोनस/इन्सेन्टिभ तथा नेपाल सरकारको निर्णयअनुसार लागू गरिएको महँगी भत्ता वितरण नगरी रोकिएको साथै सेवाग्राहीलाई पनि अत्याधुनिक प्रविधिमार्फत् सेवा दिनुपर्नेम त्यसो गर्न नसकिएकाले वार्षिकोत्सवकै दिन प्रदर्शन गर्नुपरेको नेपाल दूरसंचार राष्ट्रिय कर्मचारी संगठनका महासचिव गोविन्द दुगाना, नेपाल टेलिकम वर्कर्स युनियनका महासचिव लोकेन्द्र पनेरु तथा नेपाल रास्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकमका महासचिव कपिल प्रसाद पन्तद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: २२ माघ २०८२, बिहीबार