
काठमाडौं ।
आसन्न प्रतिनिधि सभा निर्वाचन २०५२ लाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न दार्चुलामा निर्वाचन आचारसंहिताको पालना तथा शान्ति सुव्यवस्थासम्बन्धी भर्चुअल अभिमुखीकरण गरिएको छ।
निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादित ढङ्गले सम्पन्न गर्न जिल्लास्थित मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, जिल्ला निर्वाचन अधिकारी, आचारसंहिता अनुगमन अधिकृतसहित भर्चुअल बैठक गरिएको हो।
स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतलाई सहभागी गराई भर्चुअल अभिमुखीकरण गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी विनोद दाहालले जानकारी दिए।
अभिमुखीकरणमा निर्वाचन आचारसंहिता २०५२ को प्रभावकारी पालना तथा शान्ति सुव्यवस्था कायम गर्नेबारे छलफल र निर्णय भएको उनले बताए। यहाँ हालसम्म निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी कुनै औपचारिक उजुरी नपरेको उनले जानकारी दिए।
भर्चुअल अभिमुखीकरणमार्फत निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न सबैलाई निर्देशन गरिएको बताइएको छ । सबै तह, निकाय, कार्यालय प्रमुख तथा सरोकारवालाले आचारसंहिता पालना गर्ने / गराउने निर्णय बैठकले गरेको सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी दाहालले बताए।
सामाजिक सञ्जालमा आएका निर्वाचनसम्बन्धी पोस्टरमा लाइक, कमेन्ट तथा सेयर नगर्न सबै सरकारी कर्मचारीलाई निर्देशन दिइएको पनि उनले जानकारी दिए।
मङ्गलबार बेलुकी प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश भुवन गिरी प्रमुख अतिथिका रूपमा सहभागी थिए।आजको गोरखापत्रबाट
प्रकाशित: २२ माघ २०८२, बिहीबार