
काठमाडौं ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताएका छन्।
निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकका प्रतिनिधिसँग आज गरेको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको बताए।
टिकटकसँग सम्झौता गरेपछि यसका माध्यमबाट आचारसंहिता उल्लङ्घन, मिथ्या सूचना रोक्न सहयोग पुग्ने विश्वास गरिएको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताए। टिकटकले निःशुल्क रूपमा निर्वाचनमा हुने दुरुपयोग रोक्न सहयोग गर्न लागेकामा उनले धन्यवाद दिए।
कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई र टिकटकका तर्फबाट सामाजिक नीति र सरकारी सम्बन्ध प्रमुख फेर्दोस अल मत्ताकिनले समझदारीपत्र आदानप्रदान गरेका थिए।
प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वच्छता कायम गर्न यसबाट सहयोग पुग्ने विश्वास गरिएको छ। निर्वाचनमा स्वच्छता प्रवर्द्धन तथा आयोगको क्षमता अभिवृद्धिका लागि टिकटकले सहयोग गर्ने भएको छ।
साझेदारीले निर्वाचनसम्बन्धी सही, भरपर्दो र समयमै सर्वसाधारणको पहुँचमा सूचनाको पहुँच पुर्याउन सहयोग पुग्ने विश्वास आयोगले गरेको छ।
समझदारीले निर्वाचनलाई असर पार्नसक्ने भ्रामक सूचना तथा हानिकारक सामग्रीको नियन्त्रणका लागि आयोगबाट भइरहेको प्रयासमा योगदान पुर्याउने विश्वास गरिएको छ।-रासस
प्रकाशित: २१ माघ २०८२, बुधबार