जनशक्ति उत्पादन र विश्वव्यापी आईसीटी अनुभवमार्फत नेपालको डिजिटल भविष्य सुदृढ गर्दै ह्वावे

  • Technology Khabar | २१ माघ २०८२, बुधबार
जनशक्ति उत्पादन र विश्वव्यापी आईसीटी अनुभवमार्फत नेपालको डिजिटल भविष्य सुदृढ गर्दै ह्वावे

काठमाडौं ।

नेपालको दूरसञ्चार क्षेत्रको विकासमा ह्वावे विगत दुई दशकदेखि सक्रिय छ। विशेषगरी यस क्षेत्रमा टुजी, थ्रीजीदेखि फोरजीसम्मको सेवा विस्तारका लागि ह्वावेले नेपालका टेलिकम कम्पनीसँगको सहकार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

त्यसबाहेक डाटा सेन्टर, आइसिटी पूर्वाधार, नेटवर्क निर्माण र स्मार्टफोनका साथै कम्जुमर इलेन्ट्रोनिक्सका क्षेत्रमा पनि उल्लेख्य योगदान दिएको छ।

पूर्वाधार विकाससँगै ह्वावेले युवा प्रतिभा विकासलाई विशेष प्राथमिकता दिएको छ। दक्ष जनशक्तिलाई नेपालको डिजिटल भविष्यको आधारस्तम्भका रूपमा स्वीकार गर्दै कम्पनीले राष्ट्रिय डिजिटल प्राथमिकतासँग मेल खाने सीपयुक्त आईसीटी प्रतिभा विकासका लागि विभिन्न पहलहरू गर्दै आएको छ।

सोही कार्यक्रमअन्तर्गत ह्वावे नेपालले सन् २०१९ मा ‘सिड्स फर द फ्युचर’ कार्यक्रम नेपालमा सुरु गरेको थियो। यो कार्यक्रम ह्वावेको विश्वव्यापी संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुरु भएको हो। जसको उद्देश्य युवा आईसीटी प्रतिभा विकास, डिजिटल नवप्रवर्तन प्रवद्र्धन तथा भावी प्रविधि नेतृत्व तयार गर्नु हो।

उक्त कार्यक्रम सुरु भएपछि चीन, थाइल्यान्ड र सिंगापुरमा भौतिक तथा भर्चुअल रूपमा सञ्चालन गरिएका अन्तर्राष्ट्रिय सांस्कृतिक तथा प्राविधिक आदान–प्रदान कार्यक्रममा ४९ जना नेपाली विद्यार्थी सहभागी भई तालिम प्राप्त गरेका छन्। साथै, नेपालमै सञ्चालन गरिएका स्थानीय तालिम तथा डिजिटल सीप विकास कार्यक्रमबाट १७० भन्दा बढी विद्यार्थी लाभान्वित भएका छन्। विश्वव्यापी रूपमा सन् २००८ मा थाइल्यान्डबाट सुरु भएको यस कार्यक्रमबाट हालसम्म १४० भन्दा बढी देशका १९ हजारभन्दा बढी विद्यार्थी लाभान्वित भइसकेका छन्।

यस कार्यक्रमअन्तर्गत सन् २०२५ मा पाँच जना उत्कृष्ट नेपाली विद्यार्थी ‘सिड्स फर द फ्युचर’ कार्यक्रममा छनोट भएका थिए। जसमा विश्वका १० भन्दा बढी देशका ६५ भन्दा बढी विद्यार्थी सहभागी थिए। उक्त कार्यक्रममा जोडिएर विद्यार्थीहरूले फाइभजी, एआई र क्लाउड कम्प्युटिङसम्बन्धी व्यवहारिक आईसीटी तालिममा सहभागिता जनाउँदै डिजिटल अर्थतन्त्रमा उदीयमान प्रविधिबारे प्रत्यक्ष अनुभव हासिल गरेका थिए।

सहभागीहरूले ह्वावेका स्मार्ट पिभी समाधानबारे पनि अध्ययन गरेका थिए। जहाँ सौर्य ऊर्जा, ऊर्जा व्यवस्थापनको संयोजनले दिगो सहर र औद्योगिक सञ्चालन कसरी सम्भव बनाइरहेको छ भन्ने विषयमा जानकारी समेत दिइएको थियो। विद्यार्थीहरूले स्मार्ट गभर्नेन्स मोडलमार्फत एआईलाई प्रणालीगत शासन प्रक्रियामा समावेश गरी कार्यक्षमता र नागरिक–केन्द्रित सेवा कसरी प्रवद्र्धन गरिँदैछ भन्नेबारे समेत जानकारी लिएका थिए।

त्यस्तै विद्यार्थीहरूले ड्रोन प्रविधि तथा स्वचालित प्रणालीबारे जानकारी लिँदै कृषि, विपद् व्यवस्थापन र सार्वजनिक सेवामा यसको व्यावहारिक प्रयोगबारे अनुभव आदानप्रदान गरेका थिए। इनोएक्स एकेडेमीमार्फत चीनको ‘इन्नोभेसन इकोसिस्टम’ को अवलोकन गर्दै स्टार्टअपहरूबारे विस्तृत जानकारी दिइएको थियो।

कार्यक्रमअन्तर्गत विश्वका प्रतिष्ठित व्यवसायिक व्यक्तिहरूसँग नवप्रवर्तन र नेतृत्व क्षमता विकास गर्न सहयोग पुग्नेगरी छलफल गरिएको थियो। चीनका विभिन्न सहरका नवप्रवर्तन केन्द्रहरूको भ्रमण गरी विद्यार्थीहरूले प्रविधिको विकासबारे प्रत्यक्ष अनुभूति गरेका थिए।

कार्यक्रमले विद्यार्थीलाई प्राविधिक अनुभवका साथै सहभागीहरूले विश्वभरका सहकर्मीहरूसँग सम्पर्क विस्तार, विचार आदान–प्रदान तथा अन्तर–सांस्कृतिक मित्रता निर्माण गर्न पाएका थिए।

ह्वावे नेपालले ‘सिड्स फर द फ्युचर’ कार्यक्रम चर्चित विश्वविद्यालयहरू, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, र युनेस्कोसँग सहकार्यमा कार्यान्वयन गर्दै आएको छ। यसले राष्ट्रिय युवा सशक्तीकरण तथा डिजिटल विकास नीतिसँग कार्यक्रमको सामञ्जस्य सुनिश्चित गरेको छ।

प्रकाशित: २१ माघ २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...