आर्टेमिस चन्द्र रकेटमा इन्धन चुहावट किन अझै रोकिएन? नासासँग तीन वर्ष समय हुँदाहुँदै समस्या दोहोरियो

  • Technology Khabar | २२ माघ २०८२, बिहीबार
आर्टेमिस चन्द्र रकेटमा इन्धन चुहावट किन अझै रोकिएन? नासासँग तीन वर्ष समय हुँदाहुँदै समस्या दोहोरियो
NASA's new moon rocket, Artemis II, makes its way from the Vehicle Assembly Building to pad 39B at the Kennedy Space Center, Saturday, Jan. 17, 2026, in Cape Canaveral, Fla. (AP Photo/John Raoux)

काठमाडौं ।

नासालाई मंगलबार बिहान सबेरै आर्टेमिस–२ चन्द्र अभियानका लागि प्रयोग हुने विशाल रकेटको महत्वपूर्ण इन्धन परीक्षण समयअघि नै रोक्न बाध्य हुनुपरेको छ।

यसले अन्तरिक्षयात्रीहरूलाई चन्द्रमाको वरिपरि पठाउने योजनालाई कम्तीमा एक महिना पछाडि धकेलेको छ। अब नासाले के बिग्रियो भन्नेबारे जानकारी दिन थालेको छ।

‘वेट ड्रेस रिहर्सल’ भनिने नासाको आर्टेमिस–२ स्पेस लञ्च सिस्टम (एसएलएस) रकेटको इन्धन परीक्षण जनवरी ३१ (शनिबार) राति सुरु भएर मंगलबार बिहानसम्म चल्यो।

लाइभसाइन्सका अनुसार यो परीक्षणमा रकेट र ग्राउन्ड टिमलाई वास्तविक प्रक्षेपण जस्तै गरी ७ लाख ग्यालोनभन्दा बढी तरल हाइड्रोजन र तरल अक्सिजन भरेर काउन्टडाउन प्रक्रिया अभ्यास गरिन्छ।

सोमबार (फेब्रुअरी २) मिशन व्यवस्थापकहरूले प्रक्रिया सुरु गर्न ‘गो’ संकेत दिएपछि इन्धन भर्ने काम सहज रूपमा अघि बढेको थियो। तर प्रक्षेपण प्लेटफर्ममा रहेको टेल सर्भिस मास्ट अम्बिलिकल क्विक डिस्कनेक्ट स्थानमा हाइड्रोजन चुहावट देखिएपछि प्राविधिक टोली दिनभर समस्या समाधानमा जुट्न बाध्य भयो।

यो समस्या नयाँ होइन। तीन वर्षअघि आर्टेमिस–१ को वेट ड्रेस रिहर्सलमा पनि ठीक यही स्थानमा हाइड्रोजन चुहावट देखिएको थियो। त्यसबेला ती चुहावटका कारण रकेटलाई ६ महिनाको अवधिमा तीन पटक नासाको विशाल भेहिकल एसेम्ब्ली बिल्डिङ (भीएबी) मा फिर्ता लैजानुपरेको थियो। अन्ततः आर्टेमिस–१ नोभेम्बर २०२२ मा मात्र प्रक्षेपण हुन सकेको थियो।

आर्टेमिस–१ ले मानवरहित ओरायन अन्तरिक्षयानलाई चन्द्रमाको कक्षामा घुमाएर पृथ्वीमा फर्काउने एक महिनाको अभियान सफलतापूर्वक पूरा गरेको थियो।

आर्टेमिस–२ भने नासाको लागि अझ संवेदनशील छ। यस मिशनमा अन्तरिक्षयात्रीहरूलाई गहिरो अन्तरिक्षमा सुरक्षित राख्न सक्ने क्षमता परीक्षण गरिनेछ।

नासाका अन्तरिक्षयात्री रिड वाइजम्यान, भिक्टर ग्लोभर, क्रिस्टिना कोच र क्यानाडाका अन्तरिक्षयात्री जेरेमी ह्यान्सन १० दिने यात्रामा चन्द्रमाको टाढाको भाग वरिपरि घुम्नेछन्। यो उडानले आर्टेमिस–३ का लागि प्रणाली प्रमाणित गर्नेछ, जसअन्तर्गत नासाले पुनः चन्द्र सतहमा अन्तरिक्षयात्री उतार्ने योजना बनाएको छ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा नासाकी एक्सप्लोरेसन सिस्टम्स डेभलपमेन्ट मिसन डाइरेक्टोरेटकी कार्यवाहक सहायक प्रशासक लोरी ग्लेज ले भनिन्, “आर्टेमिस–१ बाट हामीले धेरै कुरा सिकेका छौँ, र ती सिकाइहरू हिजोको वेट ड्रेसमा लागू पनि गरेका छौँ।”

उनले थपिन्, “हाइड्रोजन ट्याङ्किङसँग सम्बन्धित चुनौतीहरू सबैलाई थाहा छन्, र हामीले केही परिवर्तनहरू गरेका छौँ।”

नासाका अनुसार, आर्टेमिस–२ को वेट ड्रेस रिहर्सल आर्टेमिस–१ को पहिलो परीक्षणभन्दा धेरै सहज रह्यो। हाइड्रोजन चुहावट पूरै हटाउन नसकिए पनि त्यसलाई स्वीकार्य सीमाभित्र स्थिर पारिएको थियो। यसबीच टोलीले एसएलएसका दुवै चरण पूर्ण रूपमा इन्धन भर्न सफल भयो र परीक्षणलाई काउन्टडाउनको अन्तिम चरण (उडानअघि अन्तिम १० मिनेट) सम्म लैजान सक्यो।

तर चालकदलसहित प्रक्षेपण गर्न नासाले चाहिने पूर्ण ‘गो’ स्वीकृति पाउन भने टोली टी–जीरो (उडानको ठीक समय) सम्म पुग्न सकेन।

यसले फेरि एकपटक प्रश्न उठाएको छ— तीन वर्षअघि देखिएको इन्धन चुहावट समस्या नासाले पूर्ण रूपमा किन समाधान गर्न सकेन?

र जब चन्द्र यात्रामा अब मानिस स्वयं सवार हुने तयारी भइरहेको छ, यस्तो दोहोरिने प्राविधिक चुनौतीले आर्टेमिस कार्यक्रममाथि थप दबाब सिर्जना गरिरहेको छ।

प्रकाशित: २२ माघ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...