
काठमाडौं ।
कृत्रिम बुद्धिमत्ता (एआई) मा लगानी तीव्र बनाउँदै गएको एडोबीले आफ्नो टूडीएनिमेसन सफ्टवेयर एडोबी एनिमेट बन्द गर्ने निर्णय गरेको छ।
कम्पनीले सोमबार आफ्नो सपोर्ट साइट अपडेट गर्दै र हालका प्रयोगकर्तालाई इमेलमार्फत जानकारी दिँदै एडोबी एनिमेट सन् २०२६ मार्च १ देखि पूर्ण रूपमा बन्द हुने घोषणा गरेको हो।
एडोबीका अनुसार एण्टरप्राइज ग्राहकहरूले सन् २०२९ मार्च १ सम्म प्राविधिक सहयोग पाउनेछन् ताकि उनीहरूलाई नयाँ समाधानतर्फ सर्न सहज होस्। अन्य ग्राहकहरूका लागि भने सन् २०२७ मार्चसम्म मात्र सपोर्ट उपलब्ध हुनेछ।
यो निर्णयप्रति एडोबी एनिमेट प्रयोगकर्ताहरूले आश्चर्य, निराशा र आक्रोश व्यक्त गरेका छन्। एनिमेट जस्तै कार्यक्षमता दिने स्पष्ट विकल्प नदेखिएको भन्दै धेरै प्रयोगकर्ता चिन्तित रहेको टेकक्रञ्चले उल्लेख गरेको छ।
एक प्रयोगकर्ताले एक्स (पूर्व ट्विटर) मा पोस्ट गर्दै एडोबीलाई सफ्टवेयर पूर्ण रूपमा त्याग्नुको साटो ओपन–सोर्स गर्न आग्रह गरेका छन्। सो पोस्टमा प्रतिक्रिया जनाउनेहरूले “यसले साँच्चिकै मेरो जीवन बिगार्ने भयो” र “एनिमेट नै धेरै एडोबी प्रयोगकर्ताले सदस्यता लिने मुख्य कारण हो” जस्ता टिप्पणी गरेका छन्।
एडोबीले आफ्नो एफएक्यूमा सफ्टवेयर बन्द गर्ने निर्णयको कारण स्पष्ट गर्दै भनेको छ, “एनिमेट २५ वर्षभन्दा बढी समयदेखि अस्तित्वमा रहेको उत्पादन हो र यसले एनिमेसन इकोसिस्टम निर्माण, विकास र विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको छ। तर प्रविधि परिवर्तन हुँदै जाँदा प्रयोगकर्ताका आवश्यकताहरू पूरा गर्ने नयाँ प्लेटफर्म र अवधारणाहरू देखा परिरहेका छन्। यही परिवर्तनलाई स्वीकार गर्दै हामी एनिमेट को समर्थन बन्द गर्ने तयारीमा छौँ।”
यसबाट हेर्दा एडोबीले एनिमेटलाई अब कम्पनीको वर्तमान रणनीति अनुरूप नदेखेको संकेत गर्छ। हाल कम्पनीको प्राथमिकता एआई समावेश भएका उत्पादनहरू तर्फ केन्द्रित देखिन्छ।
अझै अचम्मको कुरा के छ भने एडोबीले एनिमेटको पूर्ण विकल्प हुने कुनै सफ्टवेयर सिफारिस गर्न सकेको छैन। बरु क्रियटिभ क्लाउड प्रो योजना भएका प्रयोगकर्ताले अन्य एडोबी एपहरू प्रयोग गरेर “एनिमेट का केही कार्यहरू प्रतिस्थापन गर्न सक्ने” बताएको छ।
उदाहरणका लागि एडोबी आफ्टर इफेक्ट्सको पपेट टुल प्रयोग गरेर जटिल की–फ्रेम एनिमेसन बनाउन सकिने र एडोबी एक्सप्रेसबाट फोटो, भिडियो, टेक्स्ट, आकार लगायतका डिजाइन तत्वमा एनिमेसन इफेक्ट प्रयोग गर्न सकिने उल्लेख गरिएको छ।
वास्तवमा एडोबी यस दिशातर्फ जाँदैछ भन्ने संकेत यसअघि नै देखिएका थिए। कम्पनीको वार्षिक एडोबी म्याक्स सम्मेलनमा एनिमेट लाई बेवास्ता गरिएको थियो, साथै २०२५ संस्करण पनि सार्वजनिक गरिएको थिएन।
एडोबीले एनिमेट पहिले नै डाउनलोड गरेका प्रयोगकर्ताका लागि भने सफ्टवेयर चलिरहने स्पष्ट पारेको छ। सामान्यतया यसको मासिक शुल्क ३४.४९ डलर थियो, जुन १२ महिनाको प्रतिबद्धतामा २२.९९ डलर पर्थ्यो।
वार्षिक अग्रिम भुक्तानी योजना २६३.८८ डलर मा उपलब्ध थियो। यसैबीच, केही प्रयोगकर्ताहरूले एनिमेटको विकल्पका रूपमा मोहो एनिमेशन र टून बूम हार्मोनीजस्ता एनिमेसन सफ्टवेयर सिफारिस गर्न थालेका छन्।
प्रकाशित: २० माघ २०८२, मंगलवार