
काठमाडौं ।
इन्डोनेसियाले एक्सएआईको च्याटबोट ‘ग्रोक’ माथिको प्रतिबन्ध सशर्त रूपमा हटाएको छ। यसअघि मलेसिया र फिलिपिन्स ले पनि ग्रोकमाथिको प्रतिबन्ध फुकुवा गरेका थिए।
दक्षिण–पूर्वी एशियाली यी मुलुकहरूले ग्रोकलाई अनुमति बिना बनाइएका यौनिक तस्बिरहरू उत्पादन गर्न प्रयोग गरिएको भन्दै प्रतिबन्ध लगाएका थिए। ती तस्बिरहरूमा वास्तविक महिलाहरू तथा नाबालिकाहरू समेत समावेश थिए।
द न्यूयोर्क टाइम्स र सेंटर फर काउन्टरिङ डिजिटल हेट (सीसीडीएच) का छुट्टाछुट्टै अध्ययनअनुसार डिसेम्बर र जनवरीको अवधिमा मात्र ग्रोक प्रयोग गरेर कम्तीमा १८ लाख यौनिक तस्बिरहरू सिर्जना गरिएका थिए।
इन्डोनेसियाको सञ्चार तथा डिजिटल मामिला मन्त्रालयले जारी गरेको विज्ञप्तिमा, एक्स कम्पनीले सेवा सुधार र दुरुपयोग रोकथामका ठोस कदमहरू उल्लेख गर्दै पत्र पठाएपछि प्रतिबन्ध हटाइएको जनाएको छ।
मन्त्रालयका डिजिटल स्पेस अनुगमन महानिर्देशक अलेक्जेन्डर साबारले प्रतिबन्ध “सशर्त रूपमा मात्र हटाइएको” स्पष्ट पार्दै, पुनः उल्लङ्घन भेटिएमा फेरि प्रतिबन्ध लगाउन सकिने चेतावनी दिएका छन्। मलेसिया र फिलिपिन्सले जनवरी २३ मा प्रतिबन्ध हटाएका थिए।
टेकक्रञ्चका अनुसार ग्रोकद्वारा सिर्जना गरिएका डीपफेक तस्बिरहरू ले विश्वभर आलोचना र अनुसन्धान जन्माए पनि, पूर्ण प्रतिबन्ध लगाउने देशहरू भने कमै छन्।
संयुक्त राज्य अमेरिकामा क्यालिफोर्नियाका अटर्नी जनरल रोब बोन्टा ले एक्सएआई विरुद्ध अनुसन्धान सुरु गरिएको र तत्काल अवैध सामग्री उत्पादन रोक्न ‘सीज एन्ड डिजिस्ट’ पत्र पठाइएको बताएका छन्।
यसबीच, एक्सएआई ले ग्रोकका केही क्षमतामा सीमितता लगाएको देखिन्छ। विशेषगरी एआई तस्बिर उत्पादन सुविधा अब एक्सका भुक्तानी गर्ने प्रयोगकर्तामा मात्र सीमित गरिएको छ।
सीईओ इलन मस्क ले भनेका छन्, “ग्रोक प्रयोग गरेर अवैध सामग्री बनाउने जो कोहीले, अन्य अवैध सामग्री अपलोड गरेसरह नै कानुनी परिणाम भोग्नुपर्छ।” उनले ग्रोकबाट नग्न नाबालिका तस्बिर बनेको आफूलाई जानकारी नभएको दाबी पनि गरेका छन्।
यसैबीच अमेरिकी न्याय मन्त्रालयले सार्वजनिक गरेको कुख्यात यौन अपराधी जेफ्री एप्स्टिन सम्बन्धी कागजातमा २०१२–१३ का मस्क र एप्स्टिनबीचका कम्तीमा १६ इमेल समावेश छन्।
ती इमेलमा मस्कले एप्स्टिनको क्यारिबियन टापु भ्रमणको इच्छा र “सबैभन्दा उच्छृङ्खल पार्टी” बारे जिज्ञासा व्यक्त गरेका थिए। एप्स्टिनले २००८ मा नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोग स्वीकार गरेका थिए।
प्रकाशित: २० माघ २०८२, मंगलवार