
काठमाडौं ।
नवा नेक्स टेकले काठमाडौंस्थित केएमसी कलेजमा आयोजित विशेष कार्यक्रममार्फत नेपालको पहिलो सञ्चार–केन्द्रित सुपर एप ‘एनच्याट आधिकारिक रूपमा सार्वजनिक गरेको छ।
यो एप एन्ड्रोइड तथा आईओएस प्लेटफर्ममा डाउनलोडका लागि उपलब्ध छ जसबाट नेपाल तथा विदेशमा रहेका प्रयोगकर्ताहरूले पनि तुरुन्तै एप प्रयोग गर्न सक्नेछन्।
कम्पनीले दावी गरे अनुसार करिब ११ महिनाको निरन्तर अनुसन्धान तथा विकास प्रक्रिया पछि नेपालमै विकसित गरिएको एनच्याट सीपीएस मोडेलमा आधारित सुपर एप हो।
यसले एउटै प्लेटफर्ममार्फत सन्देश आदान–प्रदान, अडियो तथा भिडियो कल, भ्वाइस नोट, रियल–टाइम अनुवाद, डिजिटल भुक्तानी, सेवा बुकिङ, किनमेल तथा अन्य दैनिक आवश्यक सेवाहरू सहज रूपमा उपलब्ध गराउँछ।
नवा नेक्स टेकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत धिरेन हमालका अनुसार एनच्याट नेपाली यथार्थलाई ध्यानमा राखेर बनाइएको सरल, छिटो र भरपर्दो प्लेटफर्म हो। यसले प्रयोगकर्ताको दैनिक जीवनका धेरै आवश्यकतालाई एउटै डिजिटल स्थानमा समाधान गर्छ।
एनच्याट सबै उमेर समूहका प्रयोगकर्तालाई लक्षित गरी डिजाइन गरिएको एप हो। टाइप गर्न वा पढ्न कठिनाइ हुने प्रयोगकर्ताका लागि टेक्स्ट–टु–अडियो, भ्वाइस–टु–टेक्स्ट, तथा अंग्रेजी–नेपाली रियल–टाइम अनुवाद जस्ता सुविधाहरू उपलब्ध छन्। निकट भविष्यमा अन्य स्थानीय भाषाहरू थप्ने योजना पनि कम्पनीले जनाएको छ।
एनच्याटको प्रमुख विशेषतामध्ये एक यसको इन–एप एपस्टोर तथा मिनी एप इकोसिस्टम हो। यसमार्फत स्टार्टअप तथा स्थानीय व्यवसायीहरूले कुनै कोडिङ ज्ञान बिना ड्र्याग एण्ड ड्रप विधि प्रयोग गरेर केही मिनेटमै आफ्नो मिनी एप वा डिजिटल पेज तयार गर्न सक्नेछन्।
यस सुविधाले व्यवसायीहरूलाई आफ्ना उत्पादन तथा सेवाहरू प्रदर्शन गर्न, ग्राहकसँग प्रत्यक्ष संवाद गर्न तथा अर्डर लिन सहज बनाउँछ।
नवा नेक्स टेकका प्रमुख प्राविधिक अधिकृत चार्ल्स शाहीका अनुसार एनच्याटले उद्यमीहरूलाई छिटो र सजिलै डिजिटल प्लेटफर्ममा आउन तथा ग्राहकसँग प्रत्यक्ष रूपमा जोडिन सशक्त बनाउँछ। एनच्याट कुनै एक उमेर समूहमा सीमित नभई, सबै पुस्तालाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने उद्देश्यसहित निर्माण गरिएको हो।
प्रकाशित: २० माघ २०८२, मंगलवार