मोबाइल ब्याट्री परीक्षण प्रणाली राख्न पुनः टेण्डर खुल्यो, आउलान् त योग्य कम्पनी

Technology Khabar १० बैशाख २०७६, मंगलवार

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल ब्याट्री परिक्षण प्रणालीको लागि पुनः आवेदन माग गरेकोछ । यसअघि मागिएको बोलपत्र आवेदनमा आवेदकहरुले प्राधिकरणको शर्त र मापदण्ड पुरा नगरेको हुँदा सो बोलपत्र रद्ध गरेर पुनः ईच्छुक कम्पनीहरुसँग आवेदन माग गरेको हो ।

प्राधिकरणले यसअघि सन् २०१९ जनवरी २८ तारिखमा इच्छुक कम्पनीहरुलाई मोबाइल ब्याट्री परीक्षण प्रणाली आपूर्ति, जडान र संचालन गर्नको लागि आवेदन माग गरेको थियो ।
नयाँ आवेदनमा पनि सो प्रणाली आपूर्ति, जडान र संचालन गर्नुपर्ने उल्लेख छ ।

प्राधिकरणले नेपालमा आयात भएर बिक्री हुँदै आएका तथा आयातको लागि आवदेन दिएका मोबाइल फोनहरुको ब्याट्री परीक्षण गर्ने योजनाका साथ सो बोलपत्र खुला गरेको हो ।

मोबाइलको ब्याट्री कम्पनीले तोकेको मापदण्ड र स्तरअनुसारको भए नभएको, त्यसको चार्ज गर्ने क्षमता र समयलगायतको परीक्षण गर्नेछ । हालसम्म सरकारी निकायसँग नेपालमा आयात हुने मोबाइल ब्याट्रीहरुको गुणस्तर र मापदण्ड परिक्षण गर्ने उपकरण तथा प्रणाली छैन् ।

यसअघि प्राधिकरणका उप निर्देशक विनोद चन्द्र श्रेष्ठले नेपालमा आयात गरिएका मोबाइल फोनमा प्रयोग हुने ब्याट्री परीक्षण गर्न मोबाइल ब्याट्री परीक्षण प्रणाली राख्न लागिएको बताएका थिए । उनले स्मार्टफोन र फिचर फोनमा प्रयोग गरिने ब्याट्रीको मापदण्ड तय गरेको र त्यो अनुसार भए नभएको परीक्षण गर्न यो राख्न लागिएको जानकारी दिएका थिए ।

सो मोबाइल ब्याट्री परीक्षण प्रणालीको लागि प्राधिकरणले ३५ लाख रुपैयाँ खर्च गर्ने योजना लिएको छ । हाल नेपालमा स्मार्टफोनका लागि न्यूनतम १,००० एमएएच र फिचर फोनको लागि न्यूनतम ६,०० एमएएच क्षमताको ब्याट्री हुनुपर्ने मापदण्ड तोकिएको छ । सो भन्दा कम क्षमताको ब्याट्री जडान भएका स्मार्टफोन र फिचरको लागि प्राधिकरणले टाइप अप्रुभल जारी गर्दैन् ।

मोबाइल ब्याट्री परीक्षण प्रणालीको टेण्डर बारे थप जानकारी हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित: १० बैशाख २०७६, मंगलवार

तपाइको प्रतिक्रिया