
काठमाडौं ।
अनुज राज । काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक स्थानमा प्रयोग हुने वाईफाई हटस्पट संचालनको लागी नयाँ नियम बनाएको छ ।
दूरसंचार सेवा क्षेत्रको नियमनमकारी निकाय दूरसंचार प्राधिकरणले यहि बिहिबार वाईफाई हटस्पटको सुरक्षा र प्रभावकारीता वृद्धि गर्न तथा यसको दूरुपयोगलाई रोक्न नयाँ कानून ल्याएको जानकारी दिएको छ ।
पछिल्ला दिनहरुमा सार्वजनिक स्थानहरुमा सशुल्क तथा निशुल्क वाईफाई हटस्पट राख्ने क्रमलाई व्यवस्थित बनाउन तथा नियमन गर्न वाईफाई हटस्पट संचालन सम्बन्धी विनियमावली, २०७५ प्राधिकरणले पारित गरेको छ ।
सो विनियमावलीमा प्राधिकरणले ग्राहकहरुसँग सम्झौता गर्नुपर्ने, प्रयोगकर्ताहरुको पञ्जिकरण तथा प्रमाणिकरण प्रणालीको व्यवस्था गर्ने, निश्चित समयावधीको लागि वा निश्चित मात्रामा सेवा उपलब्ध गराउनुपर्ने, प्रयोगकर्ताको बिबरण सुरक्षित तवरले राख्नुपर्ने, सूचना दिनुपर्ने, अनुगमन तथा निरीक्षण गर्न सक्नेलगायतका दफाहरु राखिएका छन् ।
प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले सार्वजनिक स्थानहरुमा हटस्पट राख्ने क्रम बढ्दो भएको र त्यसले डाटा सुरक्षा जोखिम बढाउने हुँदा नयाँ नियमावली जारी गरिएको बताए ।
‘नयाँ विनियमावलीले यूजरको प्राइभेसी, सेक्यूरिटीलाई सुरक्षित गर्नुका साथै नेशनल सेक्यूरिटीलाई पनि ध्यानमा राखेको छ । विभिन्न अपराधिक घटनाहरु हुनसक्ने अवस्थालाई ध्यानमा राखिईएको छ,’ प्रवक्ता अर्यालले टेक्नोलोजीखबरसँग भने ।
विनियमावलीअनुसार सेवा प्रदायकले हटस्पट स्थापना गरी इन्टरनेट दिनकोलागि केन्द्रीय प्रणालीको निर्माण गर्नुपर्ने छ भने लगइन गरेपछि मात्र प्रयोगकर्तालाई इन्टरनेटमा पहुँच दिनुपर्ने प्रावधान राखिएको छ । त्यसैगरी लगइनको लागि पासवर्डमार्फत मात्र लगइन गर्न सकिनेछ ।
इन्टरनेट सेवा प्रयोगकर्ताको लागि लगइन गरेपछि एक पटकमा निश्चित समयवधिको लागि मात्र सेवा दिने व्यवस्था गर्नुपर्ने उल्लेख छ ।
वाईफाई हटस्पटमा प्रयोग हुने उपकरणहरु कनफिगर गरिएको हुनुपर्नेछ भने उपकरणहरु बिसर्जन गर्दा सम्वेदनशिल जानकारीहरु हटाउनुपर्ने छ । हटस्पट प्रयोग गर्ने प्रयोगकर्ताहरुको पहिचान खुल्ने बिवरणहरु, आईपि एड्रेसलगायतका विबरणहरु भण्डारण गरी राख्नुपर्ने छ ।
त्यसैगरि प्रयोगकर्ताको विश्वसनीयता तथा गोपनीयता कायम हुने गरी इन्क्रिप्सन गरेर राख्नुपर्ने नियमावलीमा उल्लेख छ ।
प्रकाशित: ७ बैशाख २०७६, शनिबार