कुपाङका संस्थापक किम बोमले ग्राहकको व्यक्तिगत डाटा चुहावटको घटनापछि पहिलोपटक सार्वजनिक रूपमा माफी मागे

  • Technology Khabar | १४ पुष २०८२, सोमबार
कुपाङका संस्थापक किम बोमले ग्राहकको व्यक्तिगत डाटा चुहावटको घटनापछि पहिलोपटक सार्वजनिक रूपमा माफी मागे
तस्बिर: रोयटर्स

काठमाडौं ।

अनलाइन खुद्रा विक्रेता कुपाङका संस्थापक किम बोमले ग्राहकको व्यक्तिगत डाटा चुहावटको घटनापछि पहिलोपटक सार्वजनिक रूपमा माफी मागेका छन्। दक्षिण कोरियाली कम्पनीको वेबसाइटमा प्रकाशित विज्ञप्तिमा उनले चाँडै क्षतिपूर्ति योजना सार्वजनिक गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

अमेरिकामा रहेका कुपाङका अध्यक्ष किमले कोरियाली भाषामा जारी बयानमा डाटा चुहावटका लागि “गहिरो क्षमायाचना” व्यक्त गर्दै यस्ता घटना दोहोरिन नदिन लगानी र संरचनागत सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। यो डाटा चुहावट पहिलोपटक नोभेम्बरमा सार्वजनिक भएको थियो।

दक्षिण कोरियामा हालै सम्पन्न संसदीय सुनुवाइमा उपस्थित नहुनुका कारण किमले तीव्र आलोचनाको सामना गर्नुपरेको छ। यो सुनुवाइ देशकै गम्भीर डाटा चुहावट घटनामध्ये एकका रूपमा लिइएको थियो।

रोयटर्सका अनुसार आइतबार सत्तारुढ डेमोक्रेटिक पार्टीकी सांसद छोई मिन–हीले फेसबुकमार्फत किमले राष्ट्रिय सभामा पठाएको पत्रको तस्वीर सार्वजनिक गर्दै यस साता तय भएको अर्को सुनुवाइमा पनि उनी उपस्थित हुन नसक्ने जनाइएको उल्लेख गरेकी छन्। पत्रमा किमले अन्य व्यस्ततालाई कारण देखाएका थिए।

“उनको कार्यतालिकामा यो ह्याकिङ घटनाभन्दा महत्त्वपूर्ण के हुन सक्छ?” छोईले प्रश्न गर्दै भनिन्, “किमले जनतालाई अपमान गरिरहेका छन्।”

किमका अनुसार कम्पनीले सरकारसँग सहकार्य गर्दै सबै चुहिएको व्यक्तिगत जानकारी पुनः सुरक्षित गरिसकेको छ। उनले ३ करोड ३० लाख ग्राहकहरूमध्ये करिब ३,००० जनाको डेटा एक शंकास्पद व्यक्तिले आफ्नो व्यक्तिगत कम्प्युटरमा सुरक्षित गरेको पुष्टि गरे, तर उक्त डेटा कुनै तेस्रो पक्षलाई स्थानान्तरण वा बिक्री नगरिएको दावी गरे।

दक्षिण कोरियाली ग्राहकका लागि क्षतिपूर्ति योजना छिट्टै सार्वजनिक गरिने किमले बताए। दक्षिण कोरियाका सांसदहरूले न्यूयोर्कमा सूचीकृत यस कम्पनीका अर्बपति संस्थापकविरुद्ध कानुनी कारबाहीको सम्भावना खोजिरहेका छन्। उनीहरूको तर्क छ—कुपाङको अधिकांश आम्दानी दक्षिण कोरियामै हुने बिक्रीबाट आउँछ।

किमले डाटा चुहावटसम्बन्धी अनुसन्धानमा दक्षिण कोरियाली सरकारसँग नजिकबाट सहकार्य गरिएको र गोपनीयता कायम राखिएको दाबी गरेका छन्। तर सरकारको उजुरीपछि उनले यो टिप्पणी गरेका हुन्, जसमा कम्पनीले शंकास्पद व्यक्ति पूर्वकर्मचारी भएको जानकारी एकतर्फी रूपमा सार्वजनिक गरेको आरोप लगाइएको छ।

प्रकाशित: १४ पुष २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार