इसरोद्वारा नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण

  • Technology Khabar | १० पुष २०८२, बिहीबार
इसरोद्वारा नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण
फाइल तस्बिर

काठमाडौं ।

भारतको अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले बुधबार अहिलेसम्मकै सबैभन्दा धेरै तौल भएको उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यस उपलब्धिलाई भारतको अन्तरिक्ष क्षेत्रमा ‘महत्त्वपूर्ण फड्को’ भएको बताएका छन्।

एलभीएम–३ एम–६ रकेटमार्फत अमेरिकामा निर्मित एएसटी स्पेसमोबाइल सञ्चार उपग्रहलाई पृथ्वीको कक्षमा सफलतापूर्वक स्थापित गरिएको हो। इसरोका अनुसार यो भारतीय भूमिबाट प्रक्षेपण गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो पेलोड हो, जसको तौल करिब ६ हजार १०० किलोग्राम रहेको छ।

यो प्रक्षेपण भारतको कम लागतमा आधारित महत्वाकांक्षी अन्तरिक्ष कार्यक्रमका लागि उल्लेखनीय उपलब्धि मानिएको छ। भारतले आगामी वर्षहरूमा मानवविहीन कक्षीय उडान तथा मानव अन्तरिक्ष यात्राको तयारी गरिरहेको छ।

इसरोले भविष्यका अन्तरिक्ष मिसनहरूमा प्रयोग गरिने परिमार्जित रकेटमार्फत उक्त उपग्रह प्रक्षेपण गरिएको जनाएको छ। विश्वभर सञ्चार सेवाका लागि उन्नत उपग्रहको माग बढ्दै गएकाले भारत व्यावसायिक उपग्रह प्रक्षेपण बजारमा आफ्नो भूमिका विस्तार गर्ने प्रयासमा रहेको छ।

प्रधानमन्त्री मोदीले यस उपलब्धिलाई ‘भारतको अन्तरिक्ष यात्रामा गर्व गर्न लायक कोसेढुङ्गा’ भन्दै यसले अन्तर्राष्ट्रिय व्यावसायिक प्रक्षेपण बजारमा भारतको उपस्थिति अझ मजबुत बनाएको बताए।

यसअघि इसरोले करिब चार हजार ४१० किलोग्राम तौलको सीएमएस–०३ सञ्चार उपग्रह प्रक्षेपण गरेको थियो। भारतले सन् २०२७ अघि मानवविहीन कक्षीय उडान र त्यसपछि पहिलो मानव अन्तरिक्ष उडान गर्ने योजना बनाएको छ। साथै, सन् २०४० सम्ममा चन्द्रमामा भारतीय अन्तरिक्षयात्री पठाउने लक्ष्यसमेत घोषणा गरिएको छ।-रासस/एएफपी

प्रकाशित: १० पुष २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...